साढे ६ सयले एमाओवादी छाडे

विराटनगर, ३ चैत । हेटौंडामा महाधिवेशनबाट एमाओवादीले औपचारिक रूपमा क्रान्तिको बाटो छाडेर संशोधनवादतिर फसेको आरोप लगाउँदै कोचिला राज्यस्तरीय नेतासहित ६ सय ४८ नेता कार्यकर्ताले शुक्रबार औपचारिक रूपमा पार्टी छाडेका छन् ।

पुष्पकमल दाहाल र बाबुुराम भट्टराईले सातौँ महाधिवेशनबाट माक्र्सवाद र माओवादको आधारभूत सिद्धान्तसमेत त्यागेको भन्दै एमाओवादी जनयुद्धकालीन कार्यकर्तासहित पार्टी परित्याग गरेका हुन् । अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पारितलगतै कोचिलामा छुट्टै भेला गर्दै आएका नेता कार्यकर्ताले शुक्रबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।
पार्टी परित्याग गर्ने समूहको नेतृत्व गर्दै आएका सूर्य किरातीले अब एमाओवादीमा रहेर काम गर्न नसकिने बताए । पार्टी परित्याग गर्नेमा कोचिला राज्य समिति सचिवालय सदस्य नरेन सुब्बा, मोरङ जिल्ला सदस्य सूर्य किराँती, चित्र चेम्जोङ, हेमभक्त तमुु, डिल्ली लिम्बूलगायत छन् । त्यसैगरी, सुनसरी घर भएका पार्टी सम्बद्ध मुस्लिम राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य अजित मियाँ, सुकुम्बासी संगठनका केन्द्रीय उपाध्यक्ष राजकुमार गुरुङ, वाइसिएल पूर्वाञ्चलका पूर्वप्रमुख दुुर्गा राईलगायतले पार्टी छाडेको जानकारी गराइएको थियो ।
पार्टी त्याग्ने समूहले महाधिवेशनबाट नेपाली क्रान्तिको विसर्जन गरेको, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादी विचारविरुद्ध लाग्नुुपर्नेमा उनीहरूकै दलाल बन्ने विचार पास गरेको आरोप लगाएको छ । एमाओवादीले वर्ग संघर्ष, सर्वहारा अधिनायकवाद, जनवादी केन्द्रीयता, निरन्तर क्रान्ति, अन्तर्राष्ट्रियवादसम्बन्धी माक्र्सवादको आधारभूत सिद्धान्त त्यागेर विदेशीको दलालीतिर लागेको आरोप लगाएका छन् ।
दाहाल, भट्टराईले क्रान्तिको सपना देखाएर १७ हजार नेपालीले ज्यान गुुमाउनुुपरेको र परिवर्तनको संघर्षलाई बीचैमा छाडेर सहकारी र उत्पादनमा लगाउने सम्मेलनको निर्णय गतल भएको उनीहरूले बताउँदै आएका थिए । महाधिवेशनको निर्णय र दाहाल, भट्टराईको सत्ता केन्द्रित राजनीतिको विरोध गर्न थालेपछि पछिल्लो समयमा एकीकृत माओवादीले आफूहरूलाई ठूला आश्वासनसमेत बाँडेको आरोप पार्टी परित्याग गर्नेले लगाएका छन् ।

प्रतिक्रिया