काठमाडौं : नेपालको जिम्न्यास्टिकमा दुईवटा संघ अस्तित्वमा छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघको नेतृत्व नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धुव्रबहादुर प्रधानले गरेका छन् । त्यसैगरी, नेपाल हकी संघका अध्यक्ष उमेशलाल श्रेष्ठ ओलम्पिक कमिटीका उपाध्यक्ष छन् । ओलम्पिक कमिटीका सदस्य रहेका गंगाबहादुर थापा पनि एक वर्षअघिसम्म नेपाल भलिबल संघका अध्यक्ष थिए ।
यी त भए ओलम्पिक कमिटीमा जिम्मेवार भूमिकामा रहनेले नेतृत्व गरेको संघका कुरा । अरू पनि थुप्रै संघ छन् नेपालमा, जुन निकै लामो समयदेखि निष्क्रियप्राय: छन् । एक वर्षअघिसम्म ह्यान्डबलको पनि खासै गतिविधि हँुदैनथ्यो । अद्यापि दुईवटा कबड्डी संघ नेपालमा अस्तित्वमा रहेका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त कबड्डी संघको नेतृत्व सुनील राजकर्णिकारले गरेका छन् भने राष्ट्रिय मान्यताप्राप्त संघको नेतृत्व लालकुमार लामाले । सन् २०१० मा भएको ढाका सागका दौरान विदेशी भूमिमै झगडा भएपछि राजकर्णिकारको अध्यक्षतामा रहेको कबड्डी संघ विघटन गर्न राखेपद्वारा गरिएको निर्णय यस्तो थियो, ‘अन्तर्राष्ट्रिय भूमिमा झगडा गरेर नेपालको बदनाम गराएको, राष्ट्रिय च्याम्पियनसिप र अन्य कुनै पनि प्रतियोगिता नगराएको र निष्क्रिय रहेका कारण सुनील राजकर्णिकारको अध्यक्षतामा रहेको कबड्डी संघ विघटन गरिएको हो ।’
यसरी राजकर्णिकारको अध्यक्षतामा रहेको कबड्डी संघ विघटन गरिए पनि लामाको अध्यक्षतामा रहेको संघले पनि तीन वर्ष खासै उल्लेख्य काम गरेन । ०६८ को अन्त्यमा भलिबल, हकी, जिम्न्यास्टिक, ह्यान्डबल र कबड्डी सबैको परिचय एकदमै निष्क्रिय खेलका रूपमा रहेको थियो । कतिसम्म भने जब नेपालमा ओलम्पिक कमिटीको विवाद सुरु हुन्थ्यो, त्यसै समयमा धुव्र, उमेश र गंगाकै कारण अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका अधिकारी आफ्नै संघमा केही नगर्ने र पदको मात्र लोभ गर्ने भन्ने आलोचना पनि सुरु भइहाल्थ्यो ।
एघार महिनाको अन्तरालमा धेरै परिवर्तन भएको छ । ११ महिनाअघि भलिबल संघ साधारण सभापछि दानबहादुर तामाङको नेतृत्वमा अघि बढेपछि संघको पुरानो बदनाम छविमा क्रमश: सुधार आउँदै गएको महसुस हुन थालेको छ । यसबीचमा भलिबल संघले नेपालको सक्रिय संघका रूपमा छाप छाडेको छ । काठमाडौंमा भएको एनभिए कप, अमेरिकाको भलिबल कांग्रेसमा नेपालको सहभागिता र राष्ट्रिय च्याम्पियनसीपको तयारी भलिबल संघका महत्त्वपूर्ण काम रहे ।
नेपाल ह्यान्डबल संघले एसियन जोनल प्रतियोगिता आयोजना गर्यो । काठमाडांैमा भएको प्रतियोगितामा नेपाली टोलीको प्रदर्शन पनि त्यति कमजोर रहेन । कबड्डी संघका अन्तर्राष्ट्रिय मान्यताप्राप्त अध्यक्ष सुनील राजकर्णीकार विदेशमा नै रहे पनि राष्ट्रिय मान्यता प्राप्त संघले राष्ट्रिय च्याम्पियनसिपको आयोजना गर्यो ।
जिम्न्यास्टिक संघले गत महिना विद्यालयस्तरको प्रतियोगिता आयोजना गर्यो । हकी संघले वीरगन्जमा दोस्रो राष्ट्रिय क्यास प्राइज प्रतियोगिताको आयोजना गर्यो । एक वर्षको अन्तरालमा यी थुप्रै संघले आफूलाई केही हदसम्म सक्रिय बनाए । यो सक्रियता पक्कै पनि सकारात्मक हो । तर, यो सक्रियता लामो समय कायम रहने या नरहने भन्ने चासो धेरैमा रहेको छ ।
नेपाल ह्यान्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङको कथन भने अलि फरक रह्यो । एसियन जोनल प्रतियोगिताको समाप्तिपछि नै सौर्य दैनिकसँगको कुराकानीमा उनले भनेका थिए, ‘अन्य राष्ट्रिय स्तरको प्रतियोगिता, भौतिक पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता तीनवटै क्षेत्रमा संघको समान चासो रहने छ ।’ यी संघका उल्लिखित कार्य नै पर्याप्त भने होइनन् । तैपनि, विगतमा केही पनि नगरेका संघले गरेका यी सामान्य कार्यलाई पनि धेरैले सकारात्मक रूपमा लिएका छन् ।
को छन् सक्रिय
राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएका सवा सय संघमध्ये धेरै त अझै पनि यस्ता होलान् जसले कुनै राष्ट्रिय स्तरको प्रतियोगिता हालसम्म पनि आयोजना गरेका छैनन् । राष्ट्रिय प्रतियोगिताको आयोजना, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, प्राविधिक जनशक्ति उत्पादन र साधारण सभा जस्ता नियमित कार्य पनि धेरै संघले गर्दैनन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाकै दाबीअनुसार नेपालमा तेक्वान्दो र फुटबलका दुईवटा संघले मात्र वार्षिक साधारण सभा गर्ने गरेका छन् । थुप्रै कुरामा यी दुई संघ नै सक्रिय छन् । फरक यति हो, प्राविधिक व्यक्ति हुनुपर्ने महासचिवजस्तो जिम्मेवार पदको सवालमा मात्र एन्फा कमजोर देखिएको छ । अन्यथा, तेक्वान्दोपछि फुटबल नै सबै अर्थमा व्यवस्थित संघ हुनसक्छ । विगतमा निष्क्रिय रहेका हकी, जिम्न्यास्टिक र कबड्डीलगायत संघले सक्रिय व्यवस्थित संघको रूप लिए त्यो पक्कै पनि आम खेलसमर्थकका लागि खुसीकै विषय हुनेछ ।
सक्रियताको सन्दर्भ खोज्ने हो भने दिनहुँ प्रशिक्षण भइरहने मार्सल आर्ट्सका विभिन्न विधाका गरी राखेपमा तीन दर्जनभन्दा बढी संघ दर्ता छन् । तीमध्ये तेक्वान्दो, सितेरियो कराते, सोतोकान, गोजुरियो, वादोकाई, क्योकुसिन, बक्सिङ आदिका विभिन्न स्तरका प्रतियोगिता निरन्तर भइरहेका देखिन्छन् । तर, दर्ता भएका त्यतिका संघमध्ये कुन संघले वार्षिक कार्यक्रम गर्यो र कसले वर्षभरिमा कतिवटा प्रतियोगिता आयोजना गर्यो भन्ने कुरा सम्बन्धित संघमा बसेका खास व्यक्तिबाहेक अन्यलाई थाहा हुँदैन ।
स्की संघ, रग्बी संघ, जोरखाने संघ, खो खो संघ, इक्वेस्ट्रियन संघ, ट्रायथलन संघ, बेसबल संघ आदिसमेत केही यस्ता संघ छन् जो न कहिल्यै सक्रिय हुन्छन्, न कहिल्यै कुनै सार्वजनिक कार्यक्रम गर्छन् र न कहिल्यै आफ्नो संघमा के कति संख्यामा खेलाडी छन् भनेर नै बेलीविस्तार लाउँछन् । कतिपय संघको त नाम पनि आमखेलप्रेमीलाई थाहा छैन । प्रशस्त मात्रामा हिउँ भएको ठाउँमा खेलिने स्की खेल्ने सर्किट नेपालमा पाइनु अथवा बनाउन सक्नु दुर्लभजस्तो कुरा हो भने इक्वेस्ट्रियन जस्तो शक्तिशाली एवं अति प्रशिक्षित उच्चकोटिका घोडाको व्यवस्थापन गरेर मात्र खेल्न सम्भव हुन सक्ने खेलको संघ गठन आफूलाई खेलक्षेत्रमा संलग्न गराइराख्ने खास उद्देश्यले गरेर दुनियाँ हँसाउने काम मात्र भएको बुझ्न त्यति असहज छैन । स्की अथवा इक्वेस्ट्रियन खेल्न सक्ने कतिजना खेलाडी छन् नेपालमा ? रग्बी वा जोरखाने वा खो खो वा ट्रायथलनसमेत अनेक नामधारी संघअनुरूप खेल्न जान्ने के कति खेलाडी छन् यहाँ ? यस्तो लेखाजोखा कसैले राखेको छैन । स्वयं राखेपले नै पनि यससम्बन्धमा कुनै अनुगमन गरेको छैन ।
कुस्ती र एथलेटिक्सजस्ता नियमित इभेन्ट भइरहने संघहरूले आफ्नो पहलमा कुनै उल्लेखनीय प्रतियोगिता आयोजना नगरेको पनि धेरै भइसकेको छ । यस्तोमा आमसञ्चारमाध्यमहरूलाई आधार मानेर हेर्दा बरु विद्यालयहरूले खासगरी सहरी क्षेत्रमा खेलकुदको झन्डा उचालिरहेको भान हुन्छ । विद्यालयस्तरमा बास्केटबल, फुटबल, भलिबल, टेनिस, टेबलटेनिस, ब्याडमिन्टन, पौडी, एथलेटिक्स, चेस आदि खेलकुद नियमित अन्तरालमा हुने गरेका छन् । यद्यपि, राखेपमा दर्ता भएका धेरैजसो संघ यस्ता आयोजनाप्रति मौन एवं उदासीन देखिँदै आएका छन् । के स्पष्ट छ भने सबैलाई यहाँ नयाँ खेलसित आफ्नो नाम जोड्ने अनि आफू र आफ्नो सर्कलका खास मानिस भेला गरी राखेपमा नयाँ खेल–संघ दर्ता गराइहाल्ने हतारो हुन्छ । न त्यसरी दर्ता गराउन खोज्नेले केही प्रष्ट पारेका हुन्छन्, न दर्ता गरिदिने राखेपले मुलुकभित्र त्यस्ता खेलको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) नै गरेको हुन्छ ।
कसैको ध्यान खास कुराले तान्दैन– केवल एकपछि अर्को गर्दै नयाँनयाँ खेल संघहरू दर्ता गर्दैमा र नयाँ खेल भित्र्याउँदैमा देशको खेलविकास हुँदैन । खेलकुदको विकास गर्ने हो भने त्यसका लागि समुचित योजना, त्यसको इमानदार कार्यान्वयन र उच्चस्तरीय समर्पण प्राथमिक आवश्यकता हुन् ।
प्रतिक्रिया