धरान, २ चैत । लिम्बू पत्रकार संघका नवनिर्वाचित अध्यक्ष युवराज लिम्बू सुतेकै ठाउँमा मृत भेटिएका छन् । धरानमा ३० फागुनमा सम्पन्न संघको प्रथम महाधिवेशनबाट निर्विरोध अध्यक्ष चयन भएका उनी बिहीबार बिहान मृत भेटिएका हुन् ।
संघका पूर्वसंयोजक देवेन्द्र खापुङ र उनी इटहरी–४ मा कृष्णबहादुर राईको घरमा दुईवटा कोठामा सुतेकामा लिम्बू मृत भेटिएका हुन् । मोरङ इटहरा–५ घर भएका ३४ वर्षीय लिम्बू काठमाडौंमा रहेर द गोरखाज साप्ताहिकमा कार्यरत थिए । संघको यसअघिको तदर्थ समिति संयोजक देवेन्द्र खापुङको ससुराली घरमा खापुङसँगै साँझ ६ बजेतिर लिम्बू इटहरी आएर बसेका थिए । राजधानीको आरआर क्याम्पसबाट पत्रकारितामा स्नातक पूरा गरेका उनी संघको प्रथम महाधिवेशनका लागि केही दिनअघि पूर्व आएका थिए । घटनाका सम्बन्धमा गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा हुनै शंकास्पद कारण नभेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार लिम्बूको शरीर कडा भइनसकेकाले उनको बिहीबार बिहानीपख मृत्यु भएको हुनसक्ने बताइएको छ । लिम्बूका ९ महिनाकी छोरीसहित पत्नी र आमाबुवा इटहरामा बस्दै आएका छन् ।
प्रतिक्रिया