इंग्ल्यान्डको सानदार सुरुवात

वेलिंङटन, २ चैत । जोनाथन ट्रट र निक कम्पटनले शतकीय इनिङ खेलेपछि इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको तीन म्याचको टेस्ट शृंखलाअन्तर्गत दोस्रोमा सानदार सुरुआत गरेको छ । पाहुना टोलीले पहिलो दिनको खेल समाप्तीहुँदासम्म दुई विकेट गुमाएर २६७ रन जोडेको छ । ट्रट १२१ रनमा खेलिरहेका छन् भने कम्पटन १०० रन जोडेर आउट भए । यी दुइबीच दोस्रो विकेटका लागि २१० रनको साझेदारी भयो । ब्रुस मार्टिनको बलमा आउट हुनुअघि कम्पटनले २३० बल खेल्दै १५ चौका प्रहार गरेका थिए । cricket

छैटौ टेस्ट म्याच खेल्नेक्रममा २९ वर्षीय कम्पटनको यो दोस्रो शतक हो । ३१ वर्षीय कम्पटनले भने नवौँ टेस्ट शतक बनाएका हुन् । दिनको समाप्तीहुँदासम्म २३५ बल सामना गरेका उनले १५ चौका प्रहार गरे । उनलाई केभिन पिटरसनले १५ रनमा खेल्दै साथ दिइरहेका छन् । पहिलो विकेट २६ रन जोड्दा गुमाएको इंग्ल्यानडका लागि कप्तान एलेस्टर कुक १७ रन जोडेर पवेलियन फर्किए । शृंखलाअन्तर्गत यी दुईबीचको पहिलो खेल बराबरी भएको थियो ।
पहिलो दिन प्रभावित
वर्षाका कारण भारत र अस्ट्रेलियाबीचको चार म्याचको टेस्ट शृंखलाअन्तर्गत तेस्रो खेलको पहिलो दिन वर्षाका कारण सञ्चालन हुन सकेन । शृंखलामा भारत २–० ले अगाडि रहेको छ ।

प्रतिक्रिया