लुम्बिनीमा राष्ट्रिय कराते सुरु

काठमाडौं, २ चैत । नेपाल सितोरियो कराते डो संघको आयोजनामा ३९औँ राष्ट्रिय लुम्बिनी कराते प्रतियोगिता बिहीबारदेखि रूपन्देहीमा सुरु भएको छ । महिलाको ४५ केजीमा एपिएफकी ईश्वरी थापाले सगरमाथाकी अनुषा विष्टलाई पराजित गरी क्वार्टरफाइनलमा पुगिन् । पुरुषको ५० केजीमा सेतीका अरुण कुँवर, विश्वविद्यालयका चन्द्र खड्का र नेपाल प्रहरीका सनम लामा अन्तिम आठमा पुगे । प्रतियोगिताको आयोजक सितोरियो कराते संघ एवं नेपाल कराते महासंघका संरक्षकसमेत रहनु भएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले उद्घाटन गर्नुभएको थियो ।

karateकार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव लामाले विश्वमा शान्तिको सन्देश फैलाउन यो प्रतियोगिता फलदायी हुने विश्वास व्यक्त गर्दै परिषद्ले प्रतियोगितालाई महत्त्वपूर्ण रूपमा हेरिरहेको बताउनुभयो । सदस्यसचिव लामाले यो प्रतियोगितामार्फत नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्षम छ भन्ने सन्देश फैलाउन पनि जरुरी रहेकोमा जोड दिए । सदस्यसचिव लामाले विगतमा कराते संघमा रहेको कमी–कजोरीलाई केलाउनुभन्दा पनि त्यसलाई सुधार गरी वर्तमान संघ अगाडि बढ्नु पर्ने आवश्यकता औल्याए । आयोजक एवं कराते महासंघका अध्यक्ष दावा गुरुङको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा परिषद्का सदस्य रेशमलाल लामा, कराते प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सितोरियो कराते संघका प्रवक्ता ईश्वर थापा (गजेन्द्र) ले सञ्चालन गरेका थिए ।

प्रतियोगितामा १४ आञ्चलिक टिम, नेपाल प्रहरी क्लब, नेपाल आर्मी क्लब, एपिएफ क्लब, विश्वविद्यालय र राष्ट्रिय टिम गरी ३ सय ९९ खेलाडीको सहभागिता रहेको छ । १९ स्वर्णका लागि भिडन्त हुने प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

प्रतिक्रिया