नेकपा–माओवादी रेग्मीको विपक्षमा

maobadiकाठमाडौं, १ चैत । नेकपा–माओवादीले न्यायपालिकाको प्रमुखलाई कार्यपालिकाको समेत जिम्मेवारी दिईएको प्रति आपत्ति जनाएको छ ।
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाले आज विज्ञप्ति जारी गरेर प्रधानन्यायाधीशको नेतृत्वमा प्रमुख चार राजनीतिक शक्तिले गठन गरेको सरकारलाई निर्दलीय सरकारको संज्ञा दिएका हुन् । उनीहरुले प्रधानन्यायाधीश नेतृत्वका सरकारप्रति गम्भीर आपत्ति र दृढ विरोध रहेको उल्लेख गरेका छन् ।
‘असंवैधानिक तथा जनघाती निर्णयलाई राष्ट्रपतिबाट जसरी अनुमोदन गरी शपथ ग्रहण गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘यसप्रकारको जनघाती र राष्ट्रघाती निर्णयहरुलाई अबिलम्ब खारेज गरी फेरि पनि राजनीतिक दलहरुकै नेतृत्वमा सरकार बनाउनु पर्छ ।’
नेकपा–माओवादीले दलहरुबीचको संवादको टेबुलको मार्गलाई समेत विस्थापित गरेर राष्ट्रघात र निर्दलीय पश्चगामी मार्गमा गएको जनाएको छ ।
‘तीन दल र मधेसी मोर्चा बीच बाह्य शक्ति केन्द्रहरुको गुरुयोजनामा बहुदलीय प्रणाली, अन्तरिम संविधान र न्यायालयलाई समेत विस्थापित तुल्याई न्यायपालिकाको प्रमुखलाई कार्यपालिकाको समेत प्रमुख बनाउनेगरी निर्दलीय सरकार गठन भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया