चामत्कारिक ‘कमब्याक’ गर्दै बार्सिलोना क्वार्टरफाइनलमा

म्याड्रिड, १ चैत । लगातार चारपटकका फिफा वर्ष खेलाडी लिओनेल मेसीले ‘मेजिकल’ प्रदर्शन गरेपछि स्पेनिस क्लब बार्सिलोना पहिलो लेगमा बेहोरेको २–० को हारलाई टार्दै मंगलबार राति एसी मिलानलाई आफ्नो मैदान नोउ क्याम्पमा ४–० ले निराश बनाएर युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

फुटबल इतिहासमै एउटा ‘बेस्ट कमब्याक’ खेलका रूपमा स्थापित भएको बार्सिलोनाको यस नतिजामा डेभिड भिल्ला र जोर्डी अल्बाले थप गोल गरेका थिए । पहिलो लेगमा बार्सिलोना एसी मिलानको मैदानमा २–० ले पराजित भएको थियो । पहिलो लेगमा बेहोरेको यस्तो नतिजाका बाबजुद अघिल्लो चरण प्रवेश गर्ने पहिलो टोलीका रूपमा बार्सिलोना स्थापित भयो ।
पहिलो लेगमा बार्सिलोनाको पराजयपछि आलोचित बनेका अर्जेन्टिनी स्टार मेसी मंगलबार राति भने वास्तविक लयमा देखिए । मेसीले दुई उत्कृष्ट गोल गरेपछि पहिलो हाफमै बार्सिलोनाले खेललाई समग्रमा २–२ को बराबरीमा ल्याइपुर्‍याएको थियो । दोस्रो हाफको सुरुवातमै भिल्लाले गोल गरेपछि समग्र नतिजामा अगाडि बढेको बार्सिलोनाले अल्बाले खेलको अन्त्यतिर गोल गरेपछि अन्तिम आठको यात्रा सुनिश्चित गरेको थियो ।
चोटमुक्त भएका जाबीले नेतृत्व गरेको बार्सिलोनाको मिडफिल्डलाई मेसीसहित भिल्ला र रोड्री पेड्रिगुइजले अगाडि रहेर साथ दिएका थिए । मेसीले खेलको पाँचौँ मिनेटमै डी–बक्सको आउट साइड एजबाट तीन रक्षकको बीचबाट गरेको प्रहार टप कर्नर हुँदै गोल हुँदा बार्सिलोनाले यात्रामा फर्कने सम्भावना देखाएको थियो । एसी मिलानका गोलकिपर निरीह बनेको यो गोल फुटबल इतिहासमै बेस्ट र असम्भव भनेर चर्चा गरिएको छ । पहिलो हाफ एकपक्षीयभैँm बनाएको बार्सिलोनाले मेसीले अर्को क्लासिक गोल गरेपछि ४०औँ मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर बनाएको थियो । काउन्टर एट्याकमा आन्द्रेस इनियस्टाले उपलब्ध गराएको अवसरमा मेसीले डी–बक्सको आउट साइड एजबाट गरेको प्रहार डिफेन्डरको टाङमुनि हुँदै फस्ट बार भएर गोल भएको थियो । ५५औँ मिनेटमा जाबीको पासमा भिल्लाले गोल गरे ।
पहिलो हाफमै एसी मिलानले खेलमा फर्कने अवसर पाएको थियो तर निआङले गरेको प्रहार सेकेन्ड बारमा लागेर फर्किएपछि खेलको सुरुवातमा अघिल्लो चरण प्रवेश गर्ने सम्भावनामा देखिएको भ्रमणकारी टोली निराश बनेको थियो । अन्तिम समयमा एसी मिलानले दबाब दिए पनि बार्सिलोनाका रक्षकहरूको प्रदर्शन उल्लेखनीय रह्यो ।
पछिल्ला केही साता कमजोर प्रदर्शन गरेपछि बार्सिलोना मंगलबार रातिको खेलअघि प्रिक्वार्टरफाइनलबाटै बाहिरिन सक्ने टोलीका रूपमा हेरिएको थियो । ३० जनवरीदेखी तीन मार्चसम्म खेलिएका आठ खेलमा बार्सिलोनाले तिनमा पराजय बेहोरेको थियो भने दुईवटामा बराबरी खेलेको थियो । एकसाताको अन्तरमा घरेलु लिग र स्पेनिस कोपा डेल रेमा रियल म्याड्रिडविरुद्ध खेलिएका खेलमा बार्सिलोना पराजित भएको थियो ।
बार्सिलोनाको सफलतासँगै मेसी युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लिए । यी २५ वर्षिय खेलाडीले रुड भान निस्टलोयलाई पछि पारेर ५८ गोलसहित दोस्रो स्थानमा उक्लिएका हुन् । राउल गोन्जालेज ७१ गोलसहित शीर्षस्थानमा छन् । मेसीले जारी सिजन व्यक्तिगत गोल संख्या ५३ पुर्‍याएका छन्, जसमा युरोपियन च्याम्पियन्स लिगका सात र घरेलु लिगका ४० गोल पनि समावेश छन् ।
मंगलबार राति भएको अर्को खेलमा विजयी हुँदै टर्कीको गालासातारे जर्मनीको साल्केलाई समग्रमा ४–३ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गर्‍यो । मंगलबार राति भएको दोस्रो लेगमा साल्के ३–२ ले पराजित भयो । यी दुईबीचको पहिलो लेग १–१ ले बराबरी भएको थियो ।
दुई ठूला कमब्याकमा एसी मिलान सिकार

प्रतिद्वन्द्वीले दोस्रो लेगमा सानदार कमब्याक गर्दा मंगलबार राति इटालियन क्लब एसी मिलान युरोपियन च्याम्पियन्स लिगमा दोस्रोपटक अप्रत्यासित बहिगर्मनको सिकार बन्यो । यसअघि सन् २००४ मा डिपोर्टिभो ला कोरुनाविरुद्ध पहिलो लेगमा ४–१ ले विजयी भए पनि दोस्रो लेगमा ४–० ले पराजित भएपछि एसी मिलान अघिल्लो चरण प्रवेश गर्न सकेको थिएन ।

प्रतिक्रिया