बोनस सेयरबाट प्राइमले चुक्ता पुँजी पाँच अर्ब पुर्‍याउने

काठमाडौं, १ चैत । प्राइम कमर्सियल बैंकले सेयरधनीसँग पैसा नउठाइकन आगामी दुईदेखि तीन वर्षभित्रमा चुक्ता पुँजी पाँच अर्ब पुर्‍याउने तयारी गरेको छ । बैंकले सेयरधनीलाई बोनस सेयर दिएर चुक्ता पँजी वृद्धि गर्दै लैजाने भएको हो । बैंक सञ्चालक समिति बैठकमा यसबारे छलफल भएको बैंक स्रोतले बतायो ।

बैंकको चुक्ता पुँजी हाल दुई अर्ब ३४ करोड रहेको छ । बैंकले चुक्ता पुँजीको चार प्रतिशत बोनस सेयर दिइसकेको छ । विगत पाँच वर्षमा बैंकले निरन्तर औसत १५ प्रतिशतका दरले सेयरधनीलाई प्रतिफल दिइरहेको छ । बोनस सेयर दिएकोले पनि पब्लिक सेयर लिने यस बैंकको सेयर खरिद गर्दा लाभान्वित भएका छन् । आगामी वर्षमा २५ देखि ३० प्रतिशत निरन्तर रूपमा बोनस सेयर जारी गरेर बैंकले चुक्ता पँुजी वृद्धि गर्ने योजना बनाएको बैंक स्रोतले बतायो ।
स्रोतका अनुसार अहिले अन्य संस्थाहरुसँग मर्ज गरेर पुँजी वृद्धि गर्नुभन्दा बोनस सेयर जारी गरेर पुँजी बढाउनु उपयुक्त हुने सोचाइमा बैंक सञ्चालक रहेका छन । वित्तीय क्षेत्र चुनौतीपूर्ण बन्न पुगेको पछिल्लो अवस्थामा मर्जका लागि उपयुक्त संस्था पाउन कठिन रहेको वित्तीय क्षेत्रमा चर्चा छ ।
अहिले बैंकको निक्षेप २४ अर्ब ३९ करोड छ । निक्षेप धेरै राख्दा घाटा हुने भएकोले एक अर्बभन्दा बढी रकम फिर्ता गरेर बैंकले निक्षेप घटाएको थियो । यो तरलता व्यवस्थापन र वित्तीय व्यवस्थापनका लागि उपयुक्त निर्णय भएको स्रोतको भनाइ छ । बैंकको निक्षेप नबिल, नेपाल इन्भेस्टमेन्ट, एभरेस्ट, स्टान्डर्ड चार्टर्ड, हिमालयन, एसबिआई र ग्लोबल बैंकभन्दा मात्र कम हो । ग्लोबल बैंकसँग हालै दुईवटा वित्तीय संस्था मर्ज भएकोले मात्र निक्षेप बढी भएको हो । अन्य समकालीन बैंकमध्येमा प्राइम अग्रपंक्तिमा उभिएको छ र यस बैंकले निक्षेप परिचालनमा बैंक अफ काठमाण्डूलाई समेत उछिनिसकेको छ ।
बैंकले २० अर्ब ३९ करोड रुपियाँ कर्जा लगानी गरेको छ । चालु आर्थिक वर्षमा बैंकको ब्याज आम्दानी दुई अर्ब ७५ करोड रुपियाँ पुर्‍याउनेछ । बैंकको वार्षिक नाफा करिब सवा अर्ब रुपियाँ हुनेछ र खुद नाफा ७० करोड रुपियाँको हाराहारीमा हुने प्रारम्भिक अनुमान बैंक व्यवस्थापनले गरेको छ । गत पुस मसान्तसम्ममा बैंकले ३० करोड कर्जा नोक्सानी व्यवस्था गरेर पनि १६ करोड १८ लाख रुपियाँ खुद नाफा गरेको छ । आगामी चैत मसान्तसम्ममा कर्जा नोक्सानी व्यवस्थावापत गत पुसमा छुट्याइएको ३० करोड रुपियाँ मध्ये २४ करोड रुपियाँ जति फिर्ता हुने भएकोले चैत मसान्तसम्ममा खुद नाफा ४५ करोड रुपियाँभन्दा बढी हुनेछ र असार मसान्तसम्ममा खुद नाफा करिब ७० करोड रुपियाँ हुनेछ । यसबाट सेयरधनीलाई २५ प्रतिशतसम्म बोनस सेयर दिन मिल्नेछ । राष्ट्र बैंकले ब्याजदर फरक कम गर्न भनेकोले पनि नाफामा असर परेको हो ।
बैंकको लिने र दिने बीचको ब्याजदर फरक तीन प्रतिशतभन्दा कम रहेको बैंकले प्रकाशित गरेको गत पुस मसान्तसम्मको वासलातमा उल्लेख छ । राष्ट्र बैंकको निरन्तरको दबाबका बाबजुद ब्याज लागत कम भएका ठूला तथा पुराना बैंक स्टान्डर्ड चार्टर्ड, नबिल, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट बैंक, हिमालयन बैंक, बैंक अफ काठमाण्ड,ू एनआइसी बैंकको लिने र दिने बीचको फरक दर स्प्रेड करिब पाँच प्रतिशतको हाराहारीमा रहेको छ ।
त्यस्तै सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंकको पनि ब्याजदर फरक चार प्रतिशतभन्दा बढी रहेको छ । बैंकले अन्य सञ्चालन खर्च घटाउनेभन्दा ब्याज बढी लिएर नाफा बढी देखाइरहेका छन् ।
राष्ट्र बैंकको पर्याप्त दबाब परेमा यी ब्याज बढी लिएर बढी नाफा देखाउने बैंकहरूको नाफा उल्लेख्य रूपमा कटौती हुनेछ । उनीहरूले पनि नाफा बढाउन अन्तत: सञ्चालन खर्च नै घटाउनुपर्नेछ । लगानीको वातावरण कमजोर भएर लगानी घटाएको र कतिपय शंकास्पद कर्जा बिक्री गरेकोले बैंकको कर्जा धेरै नबढेको हो । आगामी दिनमा कर्जा लगानी विशेषगरी उत्पादनशील क्षेत्रमा तीव्ररूपमा बढाउने रणनीति बैंकले लिएको छ ।

प्रतिक्रिया