पुलिसको उत्कृष्ट “कमब्याक”

footballकाठमाडौं, ३० फागुन । नेपाल पुलिस क्लबले रेडबुल ‘ए’ डिभिजन लिगको सुपर एट चरणमा लगातार दोस्रो जित हात पारेको छ । सोमबार भएको खेलमा एक गोलले पछि परेको पुलिस क्लबले कमब्याक गर्दै १० खेलाडीमा सीमित एनआरटीलाई २–१ ले पराजित गर्‍यो । सोमबार नै भएको खेलमा शीर्ष स्थानको थ्री–स्टार क्लबले फ्रेन्ड्सक्लबलाई १–० ले पराजित गर्‍यो । थ्री–स्टारलाई जित दिलाउने क्रममा सन्तोष साहुखलले दोस्रो हाफमा गोल गरे ।

चौथो मिनेटमा अकिनको सानदार गोलमा अग्रता लिएको एनआरटीको विरुद्ध पुलिसले ४८औँ मिनेटमा भोला सिलवालको गोलमा कमब्याक गरेको थियो । चेतन घिमिरेले गरेको क्रसमा भोलाको हेड साइडबारमा लाग्दै गोलमा परिणत भएको थियो । त्यस पछि एनआरटीको प्रदर्शन एक्कासी खस्किएको थियो ।
७३औँ मिनेटमा एनआरटीका गोलरक्षक राजु योगीले राम्रोसँग क्लियर गर्न नसके पछि पर्वत पाण्डेले रिबाउन्डमा गोल गरे । ८३औँ मिनेटमा सुशील केसीले रातो कार्ड पाए पछि एनआरटी १० खेलाडीमा सीमित भएको थियो । एक मिनेट अघि सहायक रेफ्री राजेश श्रेष्ठसँग विवाद गरेका कारण पहेँलो कार्ड पाएका सुशीलले एक मिनेट पछि नियतबस फल गरेका कारण दोस्रो पहेँलो कार्ड पाए ।
सुपर एटमा प्रमुख खेलाडी फेमी वास्तविक लयमा नरहे पछि निरस प्रदर्शन गरिरहेको थ्री–स्टार क्लबले प्रेmन्ड्समाथि १–० को जित हात पार्‍यो । खेल दौरान थुप्रै मौका गुमाएका सन्तोष साहुखलले नै गोल गरे । पहिलोपटक गोलको नजिक भने फ्रेन्ड्स पुगेको थियो । १५औँ मिनेटमा ओमउरको ‘फ्री’किक मुस्किलले बचाउँदै गोलरक्षक भिक्टरले फ्रेन्ड्सको संकट टारे । खेलको दौरान दीपक भुसाल घाइते भए पछि उनलाई दूधराज भट्टराईले प्रतिस्थापन गरेका थिए ।
जित पछि थ्री–स्टारले एक खेल कम खेलेको मनाङ–मस्र्याङ्दी क्लबलाई नौ अंकले पछि छाडेको छ । एनआरटी पनि शीर्ष स्थानको थ्री–स्टारभन्दा नौ अंकले नै पछि परेको छ । थ्री–स्टारको ३८ अंक छ भने एनआरटीको २९ अंक छ ।

प्रतिक्रिया