राहुल बाहिर, मन्जित टिममा

काठमाडौं : चैतको दोस्रो साता काठमाडौंमा हुने एसियाली क्रिकेट काउन्सील(एसिसी) टी–ट्वान्टी प्रतियोगिताका लागि मंगलबार नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । पारस खड्काको कप्तानीमा घोषणा गरिएको १४ सदस्यीय अन्तिम टोलीमा स्पिनर राहुल कुमार विश्वकर्माले पुन: स्थान बनाउन असफल भएभने मन्जित श्रेष्ठ लामो समयपछि टिममा फर्किएका छन् ।
राहुल गत वर्षको सेम्टेम्बरमा मलेसियामा भएको आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन फोरमा अन्तिमपटक राष्ट्रिय टिममा समावेश थिए । त्यसयता आयोजित एसिसी ट्रफीमा भने यी क्षेत्र नम्बर आठ पोखराका खेलाडी अटाउन सकेनन् । क्षेत्र नम्बर एक विराटनगरका मन्जित पछिल्ला केहीवर्षमा राष्ट्रिय टिम बाहिर सीमित थिए । त्यस्तै क्षेत्र नम्बर ६ बैतडीका पेस बलर चन्द्र साउद पनि टोलीमा फर्किएका छन् ।
मन्जित र चन्द्रबाहेक राष्ट्रिय टिमका बाँकी अनुहारमा कुनै फेर बदल छैन । ज्ञानेन्द्र मल्ललाई उप–कप्तानको जिम्मेवारी दिइएको टिममा शरद भेषवाकर, अमृत भट्टराई, शक्ति गौचन, वसन्त रेग्मी, सन्जम रेग्मी, विनोद भण्डारी, प्रदीप ऐरी, अनिल मण्डल, पृथु बास्कोटा र सुभाष खकुरेल छन् । वैकल्पिक खेलाडीमा सीमित भएकामा राहुलबाहेक सागर पुन, रामनरेश गिरी र जितेन्द्र मुखिया पनि छन् । २६ मार्चदेखि तीन अप्रिलसम्म सञ्चालन हुने यस प्रतियोगितामा अफगानिस्तान र युएईबाहेकका शीर्ष दुई टोली आइसिसी टी–ट्वान्टी विश्वकपको विश्वस्तरको छनोटमा प्रवेश गर्नेछन् ।
अफगानिस्तानले आइसिसीको एकदिवशीय मान्यता पाएको र युएई टी–ट्वान्टी विश्वकपको छनोटको आयोजक भएकाले यी दुवै टोली आसन्न एसिसी टी–ट्वान्टीको फाइनल प्रवेश नगरे पनि उक्त अवसर पाउने छन् । नेपालले गत संस्करणमा ऐतिहासिक यात्राका रूपमा सेमिफाइनल प्रवेश गर्दै विश्वकपको छनोट खेल्ने अवसर पाएको थियो । नेपालले यसपटक समूह चरणमा मलेसिया, हङकङ, माल्दिभ्स र सिंगापुरको सामना गर्ने छ । अर्को समूहमा अफगानिस्तान र युएईसँगै ओमान, कुवेत र बहराइन छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालले लगातार दोस्रोपटक यस प्रतियोगिताको आयोजना गर्न लागेको हो । (सौस)

प्रतिक्रिया