बहुउद्देश्यीय संघले कृषि परियोजना सञ्चालन गर्ने

shahakariकाठमाडौं, ३० फागुन । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले एक खर्बभन्दा बढी पुँजी संकलन गरेर नमुना कृषि परियोजना तथा पशुपालन व्यवसाय सञ्चालन गर्ने भएको छ । आगामी तीन वर्षभित्र प्रारम्भीक सहकारीबाट पुँजी संंकलन गरी व्यावसायीक ढंगले अघि बढ्ने योजना रहेको संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए ।

संघको प्रारम्भीक साधारणसभाका अवसरमा अध्यक्ष भण्डारीले संघको नेतृत्वमा सहकारी संस्था र नीजि क्षेत्रको सहभागितामा साना तथा मझौला जलविद्युत् उत्पादन गर्ने योजना रहेको बताए । त्यस्तै संघले सहकारीमार्फत महिला तथा युवा सशक्तीकरण कार्यक्रम सञ्चालन गरी रोजगारी सिर्जना गर्ने परियोजना ल्याउने बताए । सभामा बोल्दै सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकालले सहकारीको विकासका लागि दीर्घकालीन सहकारी रणनीति निर्माण गर्न लागिएको बताए । सहकारीलाई सबल खम्बाका रूपमा स्थापित गराउन ऐन कानुन अनुरूप तथा पारदर्शी ढंगले सहकारी सञ्चालन गर्न आवश्यक रहेको बताए ।
आत्म निर्भरमुखी अर्थतन्त्रको विकास गर्न सहकरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।  त्यस्तै सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले सहकारीको संख्या बढी हुँदैमा विकास भएको मान्य नहुने बताए । सहकारीले उत्पादनमा ध्यान दिई देशको आर्थिक विकासमा जोड दिनुपर्ने बताए । राष्ट्रिय सहकारी संघका निवर्तमान अध्यक्ष दीपकप्रकाश बास्कोटाले सहकारीले कृषि उत्पादनमा ध्यान दिनुपर्ने बताए । कृषिको विकासविना आर्थिक विकास हुन नसक्ने भन्दै बास्कोटाले सबै सहकारीको कृषिमा लगानी गर्न प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
देशभर सञ्चालित चार हजार तीन सय बहुउद्देश्यीय सहकारीले करिब वार्षिक ६२ अर्बभन्दा बढीको निक्षेप परिचालन  र सोही बराबरको कर्जा लगानी भएको छ । संघले आगामी एक वर्षभित्र मुलुकभर सञ्चालित बहुउद्देश्यीय संस्थाको तथ्यांक एकिन गर्ने, सहकारी संस्थामा लाग्ने अवैज्ञानिक कर राजस्व हटाउने व्यवस्था गर्नेलगायतको योजना सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया