गुल्मीमा परीक्षार्थीको तथ्यांक भद्रगोल

गुल्मी, ३० फागुन । यस वर्षको एसएलसी परीक्षा सुरु हुन दुई दिन मात्र बाँकी रहँदा जिल्ला शिक्षा कार्यालय गुल्मीसँग परीक्षार्थीको ‘वास्तविक’ तथ्यांक नरहेको पाइएको छ । जिल्ला शिक्षा अधिकारी गोविन्द अर्याल र शिक्षा कार्यालयले उपलब्ध गराएको दुई छुट्टाछुट्टै लिखित दस्तावेजमा फरकफरक विवरण पाइएको हो ।

सरकारको निर्देशनविपरीत विभिन्न विद्यालयले सेन्टअप परीक्षामा विद्यार्थी रोकेपछि शिक्षाको तथ्यांक भद्रगोल बन्न पुगेको हो । शिक्षा कार्यालयले ७ हजार १ सय ५ विद्यार्थी परीक्षामा सहभागी हुने तथ्यांक बाँडेको भए पनि जिशिअ अर्यालले भने ६ हजार ८ सय ५० मात्रै परीक्षार्थी रहेको बताएका छन् ।
‘वास्तवमा ७ हजार १ सय ५ विद्यार्थी प्रवेशिकामा सहभागी हुनुपर्ने हो तर विभिन्न कारण २ सय ४० विद्यार्थी परीक्षामा सहभागी नहुने भएपछि जम्मा ६ हजार ८ सय ५० जनाले परीक्षामा भाग लिनेछन्,’ अर्यालले भने । अर्यालका अनुसार फारम भरेका विद्यार्थी ७ हजार १ सय ५ बाट २ सय ४० घटाउँदा ६ हजार ८ सय ६५ हुनुपर्ने भए पनि उनले ६ हजार ८ सय ५० विद्यार्थी परीक्षा सहभागी हुने ‘भ्रमपूर्ण’ तथ्यांक दिएका छन् ।
शिक्षा कार्यालयले बाँडेको विवरणमा नियमिततर्फ ४ हजार ९ सय ७७ र एक्जामटेडतर्फ २ हजार १ सय २८ जना सहभागी हुने उल्लेख भए पनि कुन विद्यालयबाट कति विद्यार्थी सहभागी नहुने भन्ने पछिल्लो तथ्यांक शिक्षा कार्यालयसँग छैन । शिक्षा कार्यालयले पत्रकार र सरोकारवालालाई उपलब्ध गराएको तथ्यांकमा नियमिततर्फ २ हजार ३ सय ९४ छात्र र २ हजार ५ सय ८३ छात्रा तथा एक्जामटेडतर्फ ७ सय छात्र र १ हजा ४ सय २८ छात्रा परीक्षामा सहभागी हुने उल्लेख छ । तर, त्यसमध्ये पनि कति विद्यार्थी सेन्टअपमै रोकिए भन्ने तथ्यांक छैन । सरकारी र निजीबाट के कति विद्यार्थी परीक्षामा सहभागी हुने भन्ने जानकारी पनि शिक्षाले उपलब्ध गराउन सकेको छैन ।
यसैबीच, २ सय ५५ जना विद्यार्थीलाई सेन्टअपमै रोकिएको पाइएको छ । सरकारले विद्यार्थीलाई सेन्टअपमा फेल गराउन नपाउने नियम बनाए पनि विद्यालयले २ सय ५५ विद्यार्थीलाई विभिन्न बहानामा परीक्षामा सहभागी नगराउने भएका छन् । ‘७५ प्रतिशतभन्दा कम हाजिर हुने विद्यार्थीलाई परीक्षामा सहभागी नगराउने नियम भएकाले सोहीअनुसार त्यस्ता विद्यार्थीलाई विद्यालयले रोकेका हुन्,’ उनले भने ।
यति मात्र होइन, गुल्मीमा यस वर्षको एसएलसी परीक्षा फितलो हुने संकेत देखिएको छ । जिल्ला शिक्षा कार्यालयले परीक्षा मर्यादित बनाउन प्रभावकारी काम गरेको छैन । परीक्षाको कडाइका विषयमा केन्द्राध्यक्षसँग पनि कुनै छलफल नभएको एक केन्द्राध्यक्षले बताए । ‘परीक्षालाई कसरी मर्यादित बनाउने भन्नेमा छलफल भएकै छैन,’ ती केन्द्राध्यक्षले भने । जिल्ला शिक्षा कार्यालयले भने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तथा निरीक्षकहरूले जिम्मेवारी लिई परीक्षाकेन्द्रनजिकको सुरक्षा निकायमा प्रश्नपत्र तथा उत्तरपुस्तिका पुर्‍याइसकिएको जिशिअ अर्यालले बताए ।
परीक्षाका लागि गत वर्षकै परीक्षाकेन्द्रलाई निरन्तरता दिँदै ३० वटा परीक्षाकेन्द्रबाट यस वर्ष १ सय १४ सरकारी विद्यालयका र निजी १३ गरी १ सय २७ विद्यालय प्रवेशिकामा सहभागी हुँदै छन् ।

काभ्रेमा ९ हजार परीक्षार्थी

काभ्रे, ३० फागुन । १ चैतमा सुरु हुने एसएलसी परीक्षामा काभ्रेबाट ९ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै छन् । जिल्लाका २ सय ४ निजी विद्यालयका विद्यार्थीसहित नियमित र एक्जाम्टेड गरी ९ हजार २ सय ८९ जनाले यसपटकको परीक्षा दिन लागेका हुन् । त्यसमध्ये सञ्जीवनी नमुना उच्च मावि परीक्षा केन्द्रअन्तर्गत धुलिखेल कारागार शाखाबाट चार कैदी र दुई थुनुवाले परीक्षा दिने भएका छन् ।
डाँका मुद्दामा २९ वैशाख २०६८ देखि धुलिखेल कारागारमा थुनुवा जीवन बिताइरहेका दोलखा शैलुंगेश्वर–४ का २३ वर्षीय दीपेश श्रेष्ठ, कर्तव्य ज्यान मुद्दामा ३ कात्तिक २०६८ देखि जेलमा रहेका काभ्रेको खहरेपाँगु ६ का २७ वर्षीय कुमार वाइबा, मानव बेचबिखन मुद्दामा १२ वर्षको कैद सजाय भोगिरहेका मकवानपुरको हर्नामाडी गाविसका २५ वर्षिय केशव श्रेष्ठ परीक्षामा सहभागी हुँदै छन् । श्रेष्ठको परीक्षा सिम्बोल नम्बर ०२७८०५९, वाइबाको ०२७८०६३ छ र केशवको ०२७८०६६ छ । त्यस्तै, सवारी ज्यान मुद्दामा २० वैशाख २०६९ देखि २ वर्षको कैद भोगिरहेका धुलिखेल १ भट्टेडाँडाका २१ वर्षीय प्रकाश हमालको सिम्बोल नम्बर ०२७८०६७, कर्तव्य ज्यान मुद्दामा ७ वैशाख २०६४ देखि २० वर्षको सजाय भोगिरहेका पनौती १० का २६ वर्षीय सुदर्शन हुमागाईंको सिम्बोल नम्बर ०२७८०६० र कर्तव्य ज्यान मुद्दामै १९ कात्तिक २०६६ देखि २० वर्षको सजाय भोगिरहेका नुवाकोट विदुर–८ का २२ वर्षीय अर्जुन थापा मगरको सिम्बोल नम्बर ०२७८०५८ छ ।
परीक्षामा सञ्जीवनी केन्द्रबाट तीन दृष्टिविहीन विद्यार्थी पनि सहभागी हुँदै छन् । खुला विद्यालयतर्फ विद्यापुञ्जबाट एक दृष्टिविहीनसहित ८७ र आजाद उच्च मावि बनेपाबाट १ सय १४ गरी २ सय १ विद्यार्थीले परीक्षा दिने भएका छन् ।
यो वर्ष एसएलसी परीक्षाका लागि नियमिततर्फ ८ हजार २ सय ४० र एक्जाम्टेडतर्फ १ हजार २ सय ५८ विद्यार्थीले फारम भरेका थिए । सरकारले कक्षा १० मा ७५ प्रतिशत दिन अनुपस्थित विद्यार्थीलाई परीक्षामा सहभागी नगराउने निर्णयपछि काभ्रेमा फारम भरेका २ सय ९ विद्यार्थी एलएलसी दिन वञ्चित भएका छन् । नियमिततर्फ ८ हजार ३१ विद्यार्थी मात्रै परीक्षामा सहभागी हुने परीक्षा शाखाका शालिकराम घिमिरेले जानकारी दिए ।
गत वर्षजस्तै यस वर्ष पनि ३९ परीक्षा केन्द्र कायम गरिएको छ । यो वर्ष पनि निजी विद्यालयमा परीक्षा केन्द्र तोकिएको छैन । ३९ परीक्षा केन्द्रका लागि ३९ जना केन्द्राध्यक्ष र विद्यार्थी संख्याका आधारमा चारवटा परीक्षा केन्द्रमा सहायक परीक्षा केन्द्रको व्यवस्था गरिएको छ । परीक्षाका लागि ३ सय ८३ जना गार्डको व्यवस्था गरिएको परीक्षा शाखाले जनाएको छ ।

प्रतिक्रिया