आरसिटीमाथि मनाङको जित

काठमाडौं, २९ फागुन । मनाङ–मस्र्याङ्दी क्लबले रेडबुल ए डिभिजन लिगको सुपर एटमा विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा मनाङ–मस्र्याङ्दीले आरसिटीलाई २–० ले पराजित गरेको छ । मनाङलाई जित दिलाउने क्रममा सिको र शिव श्रेष्ठले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा प्रेम तामाङले हातैबाट बल फुत्काएपछि सिकोले गोल गरे । ६९औँ मिनेटमा अनिल गुरुङको पासमा शिवले गोल गरे । सिकोले बनाएको मुभमा अनिलले शिवलाई अवसर उपलब्ध गराइदिएका हुन् ।

एकदमै नीरस खेलमा मनाङले पहिलो हाफमा मात्र अधा दर्जन गोलका अवसर गुमाएको थियो । १८औँ मिनेटमा सुजल श्रेष्ठको क्रस शिव श्रेष्ठले भेटेनन् भने नवीन न्यौपानेले गोलपोस्टको नजिकैबाट बाहिर फालेका थिए । २३औँ मिनेटमा स्किलफुल मिडफिल्डर राम थापाले राम्रो ड्रिब्लिङ गर्दै गोलको अवसर सिर्जना गरे पनि उनले राम्रो फिनिसिङ गर्न सकेनन् । पहिलो हाफमै अनिल गुरुङले एउटा राम्रो अवसर गुमाए ।
आरसिटीले आइतबार खेलेको खेल साँच्चै नीरस र सुपर एट भन्न नै नसुहाउँदो थियो । ‘हामीले मनाङसँगको खेलमा केही पनि खेल्न सकेनौँ,’ कार्कीले थपे, ‘सबै खेलाडीमा फिटनेसको समस्या थियो भने टिम स्प्रिट पनि भएन । उनेल आफ्ना प्रमुख खेलाडी अमर डंगोल निष्प्रभावी भएको बताए । जितपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङले आफ्नो टोलीले उपाधि जित्ने सम्भावना भएको बताए । जितपछि मनाङ २९ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानमा रहेको थ्री–स्टार क्लबको ३५ अंक छ ।

प्रतिक्रिया