बद्रीलालको एकल अग्रता

chesssपोखरा : सर्वेश्वर युवा क्लब, पोखराद्वारा आयोजित प्रथम पोखरा खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा आइतबार पाँचौँ चरणको समाप्तिमा पूर्वनेपाल च्याम्पियन बद्रीलाल नेपाली ५ अंकका साथ एक्लै शीर्ष स्थानमा रहेका छन् । बद्रीले चौथौँ चरणको खेलमा काठमाडौं चेस क्लबका राजेन्द्र बज्राचार्य र पाँचौंमा गोल्डेनगेट कलेजका शूरवीर लामालाई माथ गरे ।
त्यसैगरी झापाका नीरज निरौला र भक्तपुरका भेट्रान गणेशमान दुवाल समान साढे चार अंकका साथ संयुक्तरूपमा दोस्रो स्थानमा रहेका छन् । निरजले चौथौ खेलमा काठमाडौंका अनुप पोख्रेललाई हराएका थिए भने पाँचौँमा पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठसित बराबरी गरेका थिए । त्यस्तै गणेशमानले चौथौमा केशवसित बराबरी गरे भने पाँचौमा ब्वाइज युनियन क्लबका अरुणशंकर वैद्यलाई निराश पारे ।
गैह्रापाटनस्थित श्री नविन उच्चमाविमा सञ्चालित खेलमा समान चार अंक प्राप्त गर्ने खेलाडीहरूमा शूरवीर, केशव, राजेन्द्रप्रसाद श्रेष्ठ, गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थ, प्रशान भासिमा र राजेन्द्र बज्राचार्य रहेका छन् ।
त्यसैगरी अनरेटेडतर्फ साढे तीन अंकका साथ अरुणशंकर र सुभाष क्षेत्री अग्रस्थानमा रहेका छन् भने स्थानीय खेलाडीहरूमा सचिन अधिकारी, मुक्तिकुमार बजिमय, प्रेमबहादुर भट्टराई, बुद्धिराज शर्मा र सुदेश क्षेत्रीले समान ३ अंक हासिल गरेका छन् । स्वीस लिग नौ चरणको खेल हुने पाँच दिने प्रतियोगितामा एक अमेरिकीसहित ७५ जना खेलाडीहरू सहभागी छन् । प्रतियोगितामा रु.७५,००० नगद पुरस्कार रहेको छ । (सौस)

प्रतिक्रिया