इंग्ल्यान्डद्वारा टेस्ट बराबरी

दुनेदिन : पहिलो इनिङमा कमजोर प्रदर्शन गरे पनि इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको तीन मध्येको पहिलो टेस्ट बराबरी गरेको छ । दोस्रो इनिङमा सानदार प्रदर्शन गरेपछि इंग्ल्यान्डले पाँचौँ तथा अन्तिम दिन ४२१ रन जोडेपछि न्युजिल्यान्डले लक्ष्य पछ्याउने मौकासमेत पाएन ।
इंग्ल्यान्डको उत्कृष्ट पुनरागमनमा दुवै प्रारम्भिक ब्याट्सम्यानले शतकीय इनिङ खेलेभने अन्य ब्याट्सम्यानको प्रदर्शन पनि उल्लेखनीय रह्यो । कप्तान एलेस्टर कुकले ११६ र निक कम्पटनले ११७ रन जोडे । तेस्रो नम्बरमा ब्याटिङमा उतारिएका बलर स्टिभन फिनले पनि आफूलाई ब्याट्सम्यानका रूपमा पनि प्रस्तुत गर्दै ५६ रन जोडे । जोनाथन ट्रटले ५२ रनको योगदान गरे । पहिलो विकेटका लागि २३१ रनको साझेदारी गरेको इंग्ल्यान्डका लागि फिन र ट्रटले तेस्रो विकेटका लागि मिलेर ९० रन जोडे ।
यस अघि वर्षाका कारण दोस्रो दिनबाट मात्र सुरु भएको यस खेलमा इंग्ल्यान्डले पहिलो इनिङमा १६७ रन मात्र जोड्न सकेको थियो । डेब्यु गर्नेक्रममा हमिस रुथरफर्डले १७१ रन जोडेपछि घरेलु टोली न्युजिल्यान्डले पहिलो इनिङ ४६० रन जोडेपछि समाप्तीको घोषणा गरेको थियो । न्युजिल्यान्डको यस सानदार ब्याटिङ लयमा कप्तान ब्रेन्डन म्याकलमले ७४ र पिटर फुल्टनले ५५ रनको योगदान गरेका थिए ।
बंगलादेशको सानदार प्रदर्शन
श्रीलंकाविरुद्धको दुई म्याचको टेस्ट शृंखलाअन्तर्गत पहिलोमा पाहुना टोली बंगलादेशले बलियो जवाफ फर्काएको छ । बंगलादेशले तेस्रो दिनको खेल समाप्ति हुँदासम्म पहिलो इनिङमा चार विकेट गुमाएर ४३८ रन जोडेको छ । तीन खेलाडीले शतकीय इनिङ खेलेपछि श्रीलंकाले ५७० रन जोडेको थियो । बंगलादेशलाई सम्मानजनक स्थितिमा पुर्‍याउनेक्रममा मोहम्मद असरफुल र कप्तान तथा विकेटकिपर मुसाफिक्विर रहिमले श्रीलंकालाई निराश बनाएका हुन् ।
शतक बनाएका दुवै खेलाडीले पाँचौँ विकेटका लागि अविजित २६१ रनको साझेदारी गरिसकेका छन् । असरफुल १८९ र रहिम १५२ रनमा नटआउट छन् । त्यस अघि बंगलादेश कुनै समय १७७–४ को स्थितिमा थियो । छैटौँ टेस्ट शतक पूरा गर्नेक्रममा २८ वर्षीय असरफुलले यस स्थितिसम्म ३९८ बल सामना गरेर २० चौका र एक छक्का प्रहार गरे ।
यता रहिमका लागि यो दोस्रो टेस्ट शतक हो । यस अघि श्रीलंकालाई विशाल योगफलसम्म डोर्‍याउन कुमार संगकारा, लाहिरु थिरीमाने र दिनेश चन्दिमालले शतक बनाएका थिए । (एजेन्सी)

प्रतिक्रिया