करोड खर्चमा वृद्धाश्रम निर्माण गरिँदै

बाबियाचौर : म्याग्दीको बेनीमा अशक्त र अपहेलित ज्येष्ठ नागरिकको संरक्षणका लागि समुदायको नेतृत्वमा वृद्धाश्रम निर्माण गरिने भएको छ । ज्येष्ठ नागरिकहरू आफन्तबाटै अपहेलित भएर संरक्षणविहीन बन्ने समस्या बढिरहेका बेला स्थानीय समाजसेवीको सक्रियतामा बेनीको महारानीथानमा श्रीकृष्ण गण्डकी वृद्धाश्रम स्थापना गरिन लागेको हो ।

वृद्धाश्रम स्थापनाका लागि संस्था दर्ता गरी आवश्यक जमिन जुटाउने र पूर्वाधार तथा संरचना निर्माणका लागि आयस्रोतको खोजी भइरहेको छ । वृद्धाश्रमका लागि अर्थुंगे गाविसले महारानीथाननजिकै ११ आना सार्वजनिक जग्गा उपलब्ध गराएको छ भने बेनीका चन्द्रप्रसाद श्रेष्ठले गाविसले उपलब्ध गराएको जग्गासँगै रहेको पाँच आना निजी जग्गा उपलब्ध गराउने भएका छन् ।
वृद्धाश्रम स्थापना र सञ्चालनका लागि शनिबार बेनीमा सम्पन्न संस्थाको पहिलो साधारणसभा तथा अधिवेशनले जग्गादाता श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिसमेत चयन गरेको छ । एक करोडभन्दा बढी लगानी गरेर सुविधा सम्पन्न वृद्धाश्रम स्थापना गर्न लागिएको संस्थाका कोषाध्यक्ष रामजीप्रसाद सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया