प्रेस चौतारीमा नयाँ नेतृत्व

Rajendra-Aryalविराटनगर, २८ फागुन । प्रेस चौतारी नेपालको अध्यक्षमा राजेन्द्र अर्याल निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न चौतारीको सातौँ राष्ट्रिय अधिवेशनमा विष्ण् रिजाललाई दुई सय १२ मतले हराउँदै अर्याल अध्यक्षमा निर्वाचित भएका हुन् । कुल चार सय ७७ मतमध्ये अर्यालले तीन सय ४४ र रिजालले एक सय ३२ मत पाएका थिए ।

वरिष्ठ उपाध्यक्षमा एक सय ९३ मत पाई दुर्गाप्रसाद शर्मा विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका अन्य प्रतिस्पर्धी प्रकाश खतिवडाले एक सय ३५, शरद अधिकारीले ८० र बालकुमार नेपालले ६२ मत पाएका थिए । एक सय ६७ मत पाएर शान्ति गुरुङ महिला उपाध्यक्षमा विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी अक्षेरी पोखरेलले दुई मत कम अर्थात् एक सय ६५ र इन्दिरा अर्यालले १ सय ३८ मत प्राप्त गरे ।
क्षेत्रगत उपाध्यक्षमा पूर्वाञ्चलबाट कुशलबाबु बस्नेतले माधव विद्रोहीलाई पराजित गरे । बस्नेतले दुई सय ६५ र विद्रोहीले एक सय ९५ मत पाए । अन्य अञ्चलमा भने सर्वसम्मत रूपमा उपाध्यक्षहरू चयन भएका छन् । जसअनुसार मध्यमाञ्चलबाट उपेन्द्र केसी, पश्चिमाञ्चलबाट मुकेश पोखरेल, मध्यपश्चिमबाट सुरेन्द्र काफ्ले र सुदूरपश्चिमबाट राजेन्द्र विष्ट चयन भएका छन् ।
लक्की चौधरीलाई हराएर माधव नेपाल महासचिवमा निर्वाचित भएका छन् । कोषाध्यक्षमा विश्वमणि सुवेदीले नवराज छतकुलीलाई हराएका छन् । पाँच सचिवका नौ प्रतिस्पर्धीमध्ये गणेश पाण्डे, टीका विष्ट, राजेश राई, नरेन्द्र साउद र रामकुमार एलन विजयी भएका छन् । खुलातर्फ ११ केन्द्रीय सदस्यका लागि १९ जनाले उम्मेदवारी दिएकोमा सुष्मा पौडेल, भगवान भण्डारी, नेपोलियन चेपाङ, सरिता सुवेदी, इन्द्र आचार्य, निलिफा सुब्बा, गीता अधिकारी, विकास बन्जाडे, किशोर बुढाथोकी, जीवन बिसी र सुरेशसुमन डाँगी विजयी बनेका छन् । दलित कोटाबाट अमर सुनार, मुस्लिमबाट लालबाबु शेख, पिछडिएको समुदायबाट धर्मराज पाध्या, अल्पसंख्यकबाट टेकराज थामी निर्विरोध भए । पूर्वाञ्चल महिला कोटाबाट इन्दिरा भट्टराई र सुदूरपश्चिमाञ्चलबाट हेमन्ती चौधरी पनि निर्विरोध छानिए ।
अञ्चलमा सगरमाथाबाट सइन्द्र राई, गण्डकीबाट हरी बाँस्तोला, लुम्बिनीबाट भरत केसी, धौलागिरिबाट गणेश पौडेल, राप्तीबाट सविन प्रियासन, महाकालीबाट नवराज भण्डारी, कर्णालीबाट जीवन सेजुवाल, उपत्यकाको दुईवटा कोटाबाट अमृतनाथ तिम्सिना र सुरोजंग पाण्डे, आरक्षणतर्फ मधेसी कोटाबाट भउचप्रसाद यादव र बेचु गौड तथा आदिवासी जनजातितर्फ हरि लामा र भरत इङनाम केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
भूगोलतर्फ कोसीबाट एक केन्द्रीय सदस्य पदका लागि चार जनाको उम्मेदवारी परेकामा लीलाराज भट्टराई विजयी भए । जनकपुरबाट ईश्वरी काफ्ले सर्वसम्मत भए । चौतारीको ५९ सदस्यीय केन्द्रीय समितिमा २२ जना निर्विरोध भए । चार सदस्यपछि थप गरिने चौतारीले जनाएको छ ।
‘सञ्चारमाध्यमको दुरुपयोग रोक्नुपर्‍यो’

प्रेस चौतारीका नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यलाई एमाले मोरङले आइतबार बिहान कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको छ । एमाले नेताहरू केपी ओली, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायतका उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।
नेता ओलीले नेपाली प्रेस जगत्मा भएका विकृति एवं विसंगति हटाई लोकतन्त्र र समाज परिवर्तनमा प्रेस चौतारी अझ क्रियाशील भएर लाग्नुपर्ने बताए । लोकतन्त्र स्थापनाका लागि प्रेसको भूमिका महत्वपूर्ण रहेकाले मुलुकलाई सही बाटोमा ल्याउन पत्रकारले सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने उनको भनाइ थियो । उनले पीतपत्रकारिता मौलाइरहेको उल्लेख गर्दै सञ्चारमाध्यमको दुरुपयोगलाई चौतारीले रोक्न भूमिका निर्वाह गर्नुपर्ने धारणासमेत व्यक्त गरे । एमाले जहिले पनि प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै उनले प्रेसमाथिको बन्देज तथ सेन्सरसिप कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।

प्रतिक्रिया