गाडीभाडा वृद्धिको विरोधमा विद्यार्थी आन्दोलित

काठमाडौं, २८ फागुन । विपक्षी राजनीतिक दलनिकट विद्यार्थी संगठनले सार्वजनिक सवारीसाधनमा भएको भाडा वृद्धिको विरोध गर्दै आन्दोलन घोषणा गरेका छन् ।

११ विद्यार्थी संगठनले आइतबार सरकारले हचुवाका भरमा सार्वजनिक सवारीसाधनको भाडा बढाएको भन्दै उक्त निर्णय फिर्ताको मागसहित आन्दोलन घोषणा गरेका हुन् । सरकारले शुक्रबारदेखि सार्वजनिक सवारीसाधनमा ९ प्रतिशत भाडा बढाएको छ ।
भाडा बढाउने निर्णय फिर्ता, स्ववियु चुनाव घोषणा, गोल्डेनगेट कलेजको विषयलाई लिएर शिक्षा मन्त्रालयले बनाएको एकल संयन्त्र खारेजी हुनुपर्नेलगायत माग राखी आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
आन्दोलन कार्यक्रमअनुसार विद्यार्थीले सोमबार बिहान ९ बजेदेखि एक घन्टा देशभरका क्याम्पसमा प्रदर्शन गर्ने भएका छन् । ११ बजे यातायात मन्त्रालयमा भाडावृद्धि फिर्ताको माग राख्दै ज्ञापनपत्र बुझाउनेछन् ।
मंगलबार ३ बजे सिटी जुलुस निकाल्ने र बुधबार बिहान ६ देखि १० बजेसम्म सरकारी तथा भाडाका सवारीसाधनमा रोक लगाउने कार्यक्रम उनीहरूले सार्वजनिक गरेका छन् । माग सम्बोधन नभए अन्य आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने लामिछानेले चेतावनी दिए ।

प्रतिक्रिया