सविना फुलकन्ट्याक्ट कराते च्याम्पियन

काठमाडौं, २७ फागुन । मध्यमाञ्चलकी सविना श्रेष्ठ १७औँ पुरुष तथा १०औँ महिला तौलसमूह राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिताको महिला खुला तौलसमूहमा शनिबार पहिलो भएकी छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा सविनाले एसियाली रजत विजेता मध्यमाञ्चलकै ज्योति लामालाई निराश पारिन् । सुदूरपश्चिमाञ्चलकी निर्मला वज्राचार्य तेस्रो तथा मध्यपश्चिमाञ्चलकी सविना लामा चौथो भए ।

महिला ५५ केजीमुनिको उपाधि भिडन्तमा पश्चिमाञ्चलकी प्रतिमा माझीले मध्यमाञ्चलकी सलिना लामालाई हराउँदै स्वर्ण चुमिन् । पश्चिमाञ्चलकी सुजाता राई तेस्रो तथा सुदूरपश्चिमाञ्चलकी सीता राई चौथो स्थानमा रहे । महिलाको दुवै स्पर्धामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार, तेस्रोले २ हजार ५ सय र चौथोले १ हजार २ सय ५० रुपियाँ प्राप्त गरे ।
नेपाल क्योकुसिन कराते डो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुलामा मध्यमाञ्चलका वीरमान लामाले बाजी मारे । फाइनल उनले आफ्नै क्षेत्रका ज्ञानबहादुर तामाङलाई पाखा लगाए । मध्यमाञ्चलकै सञ्जय राई तेस्रो तथा पश्चिमाञ्चलका नारायण आचार्य चौथो बने । पुरुषमा चार स्थान हात पार्नेले क्रमश: ३० हजार, १५ हजार, ७ हजार ५ सय र ३ हजार ५ सय नगद पुरस्कार जिते । दुईदिने प्रतियोगितामा ४६ खेलाडीले तीन स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया