मोहन र लीलालाई अम्बिकास्मृति जुडो स्वर्ण

काठमाडौं, : चौथो अम्बिका स्मृति राष्ट्रव्यापी खुला तौल जुडो प्रतियोगिताको पुरुषमा काठमाडौंका मोहन सुनुवार र महिलामा लीला अधिकारीले शनिबार स्वर्ण जितेका छन् । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको फाइनलमा मोहनले नेपाली आर्मी क्लबका जंगबहादुर सारुलाई हराए । आर्मीका कालुमान तामाङ तथा काठमाडौंका सरोज महर्जन संयुक्त रूपमा तेस्रो स्थानमा रहे । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार हात पारे ।
नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको अर्को उपाधि भिडन्तमा लीलाले कैलालीकी गंगा चौधरीलाई हराइन् । नेपाल प्रहरी क्लबकी इन्दिरा राई तथा एपिएफ क्लबकी देविका खड्का तेस्रो भए । पहिलोले ५ हजार, दोस्रोले ३ हजार तथा तेस्रोले २ हजार नगद पुरस्कार पाए । मोहन र लीला उत्कृष्ट खेलाडी पनि घोषित भए । त्यसवापत उनीहरूले थप १–१ हजार हात पारे । पुरुषमा आर्मीका जंगबहादुर सारु तथा महिलामा लीलाले उत्कृष्ट इप्पोनको उपाधिसमेत हात पारे । दुवैले १–१ हजार नगद पुरस्कार जिते ।
नेपाल जुडो संघका पूर्वउपाध्यक्ष स्व. अम्बिकाबहादुर क्षेत्रीको स्मृतिमा सञ्चालित प्रतियोगिताको पुरुषमा ३२ तथा महिलामा १६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको सम्पूर्ण खर्च स्व. अम्बिकाका परिवारले प्रायोजन गरेको हो । विजेतालाई न्यायाधीश शम्भुबहादुर खड्का, स्व. अम्बिकाका छोरा प्रमोदलगायतले पुरस्कार प्रदान गरेका थिए । यसअघि प्रतियोगिताको उद्घाटन जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले गरेका थिए ।

प्रतिक्रिया