दर्शकको आकर्षणमा अन्तर्राष्ट्रिय व्यापार मेला

fncci-adकाठमाडौं, २७ फागुन । अन्तर्राष्ट्रिय व्यापार मेलाको दोस्रो दिन बिहानैदेखि दर्शकको चाप बढेको छ । बिदाका दिन परेकाले पनि अवलोकन गर्न आउनेको चाप बढेको हो । अहिलेसम्म करिब ३० हजारले मेला अवलोकन गरेका छन् ।

मेलामा मन्त्री, सचिव, सरकारी उच्च ओहोदाका पदाधिकारी, स्वदेशी विदेशी, कूटनीतिक नियोगका प्रतिनिधि त्था सर्वसाधारणको सहभागिता रहेको आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
शान्ति मन्त्री टोपबहादुर रायमाझीले मेला अवलोकन पछि भने, ‘नेपालको आर्थिक विकासमा यस्ता मेलाले महत्त्वपूर्ण सहयोग पुर्‍याउनेछ ’ । यसले अर्थतन्त्रमा रंक्त सञ्चार गर्ने प्रतिक्रिया उनको थियो । मन्त्री रायमाझीले सरकारको समेत सहयोग रहेको यो मेला सरकार निजी क्षेत्रको साझेदारीको महत्त्वपूर्ण उदाहरण भएको बताए ।
शनिबार बिहानै बंगलादेशी राजदूतावासका चार्ज डि अफियर्स फरिदुल इस्लमले पनि मेलाको अवलोकन गरे । मेलाको अवलोकन पछि प्रतिक्रिया दिँदै इस्लमले नेपाल बंगलादेशबीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तारमा यो मेला कोशेढुंगा हुने बताए । उनले मेला नेपाल र बंगलादेश तथा अन्य सहभागी देशबीच सम्पर्क बढाउन महत्त्वपूर्ण हुने धारणा राखे ।
महासंघका अध्यक्ष सुरज वैद्य, नेपालका लागि भारतका राजदुत जयन्त प्रसाद र बोर्डर्ड टेरिटोरियल काउन्सिल, भारतका उपप्रमुख काम्पा बोर्गयारी र वाणिज्य तथा आपूर्ति मन्त्रालयका निमित्त सचिव तोयानारायण ज्ञवालीले संयुक्त रूपमा मेलाको उद्घाटन गरेका थिए । मेला २९ फागुनसम्म सञ्चालन हुँदै छ । नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश, अमेरिकालगायतका देशको सहभागिता रहेको मेलामा चार सयवटा स्टलमार्फत विभिन्न ती देशका उत्पादन तथा सेवाको प्रदर्शनी गरिएको छ ।
मेलामा लत्ता/कपडा, सूचना प्रविधि, हस्तकला, छालाजन्य, शिक्षा, स्वास्थ, औषधि, व्यावसायिक कृषि उत्पादनहरूको राखिएका छन् । नेपाल व्यापार रणनीति २०१० अन्तर्गत पहिचान गरिएका तीन क्षेत्रका १९ वटा वस्तुको प्रवद्र्धनमा विशेष जोड दिइनेछ ।
मेला आयोजनाका क्रममा विभिन्न देशका उद्यमी व्यवसायीसँग आयोजना हुने व्यावसायिक भेटवार्ताबाट नेपाल र ती देशबीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, व्यापार विस्तार तथा लगानी तथा प्रविधि प्रवद्र्धनमा समेत सघाउ पुग्ने विश्वास गरिएको छ । मेलाका अवसरमा विशेष गरी मेलाको सहआयोजकमा नेपाल हस्तकला महासंघ रहेको छ । प्रत्यक्ष रूपमा मेलाको दुई लाखभन्दा बढीले अवलोकन गर्ने र मेला अवधिभर करिव १५ करोडको कारोबार हुने अपेक्षा महासंघको छ । मेलाको साझेदार राष्ट्र छिमेकी देश भारत रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघले यस मेलालाई आफ्नो वार्षिक क्यालेन्डरका रूपमा विकास गरी लैजान लागेको पनि बताएको छ ।

प्रतिक्रिया