घुस लिने झामाथि कारबाहीको माग

काठमाडौं : विद्यार्थी संगठनले लाइसेन्सका लागि हाकाहाकी घुस लिने इन्जिनियर्स काउन्सिलका रजिस्ट्रार ज्ञानेन्द्रकुमार झालाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र नेपाल विद्यार्थी संघले विज्ञप्तिमार्फत जनकपुर इन्जिनियरिङ कलेजका विद्यार्थीसँग इन्जिनियरिङ लाइेसन्सका लागि घुस लिएका काउन्सिलका रजिस्ट्रार झालाई कारबाही गर्न माग गरेका हुन् । झाले लाइसेन्सका नाममा २७ पुसमा १४ जना विद्यार्थीबाट दुई लाख लिएका थिए ।
विद्यार्थी संगठनले दुई लाख विनासर्त फिर्ता गराउनुपर्ने तथा झालाई निलम्बन गर्नुपर्ने माग राखेका छन् । उनीहरूले अपराधलाई ढाकछोप गरी दोषीले उन्मुक्ति पाउने अवस्था आउन नदिन राज्यका राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई घुस लिएको सम्बन्धमा छानबिन गर्न मागसमेत गरेका छन् ।
इन्जिनियरिङ कलेजका पासआउट विद्यार्थीले पटक–पटक लाइसेन्सका लागि निवेदन दिँदासमेत नदिएपछि बाध्य भएर दुई लाख बुझाएर लाइसेन्स लिएका थिए । नेपाल विद्युत्
प्राधिकरणको इन्जिनियरिङका लागि खुलाइएको जागिरमा लाइसेन्स नभएर दरखास्त नपाइने भएपछि विद्यार्थीले २ लाख बुझाएका थिए । (सौस)

प्रतिक्रिया