तौलसमूह राष्ट्रिय फुलकन्ट्याक्ट कराते जारी

karateकाठमाडौं, २६ फागुन । मध्यमाञ्चलका वीरमान लामा र ज्ञानबहादुर तामाङ १७ औं पुरुष तथा १० औं महिला तौलसमूह राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतिस्पर्धामा वीरमानले पूर्वाञ्चलका तीर्थमान घिसिङ तथा ज्ञानले पश्चिमाञ्चलका सुरेन्द्र खत्रीलाई पराजित गरे । सोही स्पर्धामा मध्यपश्चिमाञ्चलका मिलन लामा, पूर्वाञ्चलका वासुदेव सेढाईं, मध्यमाञ्चलका सञ्जय राई, पश्चिमाञ्चलका नारायण आचार्य, पूर्वाञ्चलका रामकुमार तामाङ तथा पूर्वाञ्चलकै मनोज दोङले पनि क्वाटरफाइनलमा स्थान पक्का गरे ।

नेपाल क्योकुसिन कराते डो संघद्वारा आयोजित प्रतियोगिताको महिला खुलामा पश्चिमाञ्चलकी ज्योति लामा, पूर्वाञ्चलकी रशिला स्याङतेन, यशोधा गाहा मगर र शिवानी लामा, पश्चिमाञ्चलकी निकिता लामा, सुदूरपश्चिमाञ्चलकी निर्मला वज्राचार्य, मध्यमाञ्चलकी प्रमिला राई तथा मध्यपश्चिमाञ्चलकी सविना श्रेष्ठ क्वाटरफाइनलमा प्रवेश गरे । महिलाको ५५ केजीमुनि मध्यमाञ्चलकी सलिना लामा र सुस्मिता राई, पश्चिमाञ्चलकी यामकुमारी गाहा मगर, सुनीता लामा, सुजाता राई, मनीषा लामा र प्रतिमा माझी तथा सुदूरपश्चिमाञ्चलकी सीता राई क्वाटरफाइनलमा पुगे ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले उद्घाटन गरेका थिए । त्यस अवसरमा आयोजक संघका अध्यक्ष सिहान जगतप्रसाद गौचनलगायतको उपस्थिति थियो । दुईदिने प्रतियोगितामा पाँच विकास क्षेत्रका ४६ खेलाडीले तीन स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले नगद पुरस्कारसमेत पाउनेछन् ।

प्रतिक्रिया