मानिसले एकैसाथ धेरै जीवन बाँचेको हुन्छ । मल्टिपल पर्सनालिटीको सिकार हरेक मानिस हुन्छ । मानिस जे देखाउँछ, उसको अवचेतनमा त्यही कुरा पाकिरहेको हुन्छ भन्ने कुनै
ग्यारेन्टी छैन । तर, स्वच्छन्दवादी अंग्रेज कवि बायरन आफ्नो लेखनजस्तै थिए । उनले आफ्नो छोटो जीवनकाल आफ्नै लयमा बाँचे– एकपछि अर्की श्रीमती ल्याएर, कैयौँ प्रेमिका बटुलेर, बेलाबेला यौनकर्मी महिलासँग सुतेर, आफ्नै सौतेनी बहिनीसँग हाडनाता लाग्नेगरी लसपस गरेर, हयारो र क्याम्ब्रिजमा विद्यार्थी छँदा समलिंगी अभ्यास गरेर ।
बायरन वास्तवमा हुल्याहा थिए । उनी कसैले थाहा नपाउने गरी आइमाइलाई फकाएर यौनआनन्द उठाउँथे, सार्वजानिक रूपमै पनि कामुक र अनियन्त्रित हुन्थे अनि अनैतिक भोजभतेरमा भाग लिने गर्थे । १९औँ शताब्दीको सुरुमा लन्डनको समाज उदार बन्दै गएको थियो तर सामाजिक घेरा नै नाघ्न थालेपछि उनलाई निर्वासनमा जान बाध्य पारियो । पहिले भेनिसमा र त्यसपछि ग्रिसमा, जहाँ उनको मृत्यु भयो ।
‘ब्यारोन’को उपाधि पाउँदा बायरन प्राथमिक विद्यालयमा थिए । उनलाई पहिलो यौनअनुभव नौ वर्षमा प्राप्त भयो । पारिवारिक नर्स ‘मे’ कलिला बालकसँग सम्भोग गर्थिन् । तिनै नर्सको यौनआवेगको सिकार भए बायरन । शरीर विकसित हुँदा बायरन यौनमा निकै खप्पिस भइसकेका थिए । उनको प्राकृतिक सुन्दरता, मीठो भाषा, आफूभन्दा जेठा आइमाईको मातृत्व भावनालाई सजिलै छुने उनको क्षमता र कुख्यातिले उनलाई विपरीत लिंगीतिर आकर्षित बनाइदिएको थियो । उनीसँग मित्रता गाँस्ने प्रत्येक आइमाईलाई थाहा हुन्थ्यो, बायरनको इच्छा के छ ? भलै उनी ज्यादै मोटा र एउटा खुट्टो लंगडो भएका किन नहुन् ।
विद्यालय र विश्वविद्यालयमा बायरनले आफूभन्दा कान्छा तथा जेठा दुवैखालका केटासँग समलिंगी सम्बन्ध राखे पनि उनलाई पुरुषसँग यौनक्रीडा गर्न घृणा लाग्यो । त्यसपछि उनले आफ्नो तीव्र यौनभोकलाई लन्डनका कैयौँ वेश्या र प्रेमिकामार्फत पूरा गरे । सायद उनकी सबैभन्दा प्रख्यात र सबैभन्दा सजिलो पुरस्कार क्यारोलिन ल्याम्ब थिइन् । सत्ताइस वर्षीय ल्याम्बका पति पछि इंग्ल्यान्डका प्रधानमन्त्री बने ।
क्यारोलिन पनि कविजस्तै यौनप्यासी थिइन् र उनीहरूले एकआपसमा अनुपम उपहार अर्थात् आफ्ना यौनांगका भुत्लाका चुल्ठाहरू साटासाट गरे । तर, बायरन उनीसँगको सम्बन्धबाट वाक्क भएपछि उनकी सासूसित सल्किए, लेडी मेलबर्नसँग । बुढ्यौलीले छुन लागेकी लेडी मेलबर्न यसरी बायरनको ओछ्यानमा सुत्ने अर्की आइमाई बनिन् ।
बायरन चौबीस वर्षका हुँदा चालीस वर्षीय जेन हार्ले अर्ल अफ अक्सफोर्डकी पत्नी थिइन् । उनका यति धेरै प्रेमी र छोराछोरी थिए कि छोराछोरीलाई ‘हार्लेका बथान’ भनिन्थ्यो किनकि ती छोराछोरीका बाबु को हुन् भन्ने टुंगो थिएन । पछि बायरनले हार्लेकी १३ वर्षीय छोरीलाई बलात्कार गर्ने कोसिस गरे भन्ने हल्ला चल्यो । आफ्ना आलोचकलाई शान्त पार्न बायरनले एनाबेलासँग बिहे गरे, एनाबेलासँग बायरनलाई सुधार्छु भन्ने विश्वास थियो । तर, यसो गर्न असफल भएपछि एक वर्षमै एनाबेलाले उनलाई छोडिन्, जतिबेला एउटी छोरी जन्मिसकेकी थिइन् ।
बायरनले आफ्नै सौतेनी बहिनी अगस्टा लेलाई गर्भवती बनाएपछि (उनीहरूका बाबु एउटै थिए) आफ्नो जीवनशैली परिवर्तन गर्नुभन्दा निर्वासनमा जाने विचार गरे । भेनिस गएपछि पहिले उनले आफ्नो घरभेटीकी श्रीमती मारिएना सेगाटीलाई सुताए । त्यसपछि पाउरोटी बनाउने एकजना भान्छेकी श्रीमती मार्गारिटा कग्नीलाई । उनी दिनभर विवाहित महिला र रातभरि स्थानीय वेश्यालाई पट्याउने गर्थे । उनी लन्डनमा रहेका आफ्ना साथीलाई लेख्थे, ‘वर्षको मेरो आधा खर्च आइमाईमा हुन्छ, गत वर्ष मैले २ सय जना वेश्या सुताएँ, सायद अलि बढी पनि हुनसक्छन् ।’ पैसाबाहेक उनले भिरिङ्गी सारेर त्यसको मूल्य चुकाए, भिरिङ्गीलाई उनी ‘भेनस
(प्रेमकी देवी) को श्राप’ मान्थे ।
पैसाको अभाव होस् कि रोग लागोस् वा यौनेच्छा घट्दो होस्, बायरन पाँचवर्षे गृहस्थी जीवनमा प्रवेश गरे । तर, यस्तो गृहस्थी अर्काकी श्रीमतीसँग बसाले । उन्नाइस वर्षीया टेरेसालाई काउन्ट गिकोलीसँगको विवाह सुहाउँदो हँुदैनथ्यो । उनी बायरनसँग प्रेममा परिन् तर जब काउन्टले तीन जनासँग बस्ने प्रस्ताव गरे, उनी खुसी भइन् । उनीहरू छुट्टिएपछि कवि बायरन ग्रिस गए तर ग्रिसमा मात्र नौ महिना बाँचे । सन् १८२४ मा यौनरोगहरूको आक्रमणबाट उनको मृत्यु भयो । त्यतिबेला उनी ३६ वर्षका थिए ।
प्रतिक्रिया