लडाइँ

shyamal-daiरोगविरुद्ध लडिनँ भने म
मलाई सजिलै जित्नेछन् रोगहरूले
आफूलाई बचाइराख्न
यस पृथ्वीमा सम्पूर्ण शक्तिसहित
लड्नै पर्नेछ मैले रोगहरूविरुद्ध
लडिनँ भने चाँडै समाप्त हुनेछु म ।

म लडिनँ भने
तिमी मलाई देख्नेछौ
मेरो शरीरका सम्पूर्ण तत्वहरू
मजाले खाइरहेका कीटाणुहरूले
लडिन भने मर्नेछु
यही नै हो नांगो सत्य
भित्र–भित्र निरवरोध खानेछन् तिनीहरू
मेरो प्राणतत्व
लडिनँ भने चाँडै अदृश्य हुनेछु म ।

मैले अल्छी गरेँ भने कसैगरि
म उठ्नेछैन आफ्नो विस्तराबाट
झन्झन् ढल्दै जानेछु
यही नै हो सम्पूर्ण सत्य
कि मैले बचाउनुपर्ने जति केही बाँच्ने छैन
ए नीलगिरि, भत्कनेछौ तिमी पनि
सगरमाथा गल्दै जानेछ
म सुत्नेछु फेरि कहिल्यै नउठ्ने गरी
लडिनँ भने म सुरुमै हार्नेछु ।

मैले सुनिनँ भने समयको पदचाप
हत्याराको स्वर्गमा
चम्केका हतियारहरू चम्कनेछन् अझै
मृत योद्धाका हतियारको पनि केही अर्थ हुनेछैन
तिनै हतियारमा सान लगाउनेछन् हत्याराले
पागलहरू हाँस्नेछन् त्यसबेला
मेरो अनुहारमा हेरेर
नीलिमा ! तिम्रा नांगा पाखुराहरूमा
गाडिनेछन् दुष्ट दाँतहरू ।

म लडिनँ भने हार्नेछु चाँडै
कपटी, धूर्त र बेइमानहरू बाँच्नेछन्
पाखण्डको भीषण अग्लो पर्खालमाथि उभिएर,
म होचिँदै जानेछु
होचिँदै जानु थिचिँदै जानु हो
म सिद्धिनेछु लडिनँ भने ।

प्रतिक्रिया