काठमाडौं : राजधानीमा अस्थायी बसोवास गर्दै आएका नागरिकलाई लक्ष्य गरी निर्वाचन आयोगले पुन: फोटोसहितको मतदाता नामावली संकलन अभियान सञ्चालन गर्ने भएको छ ।
आयोगले विभिन्न जिल्लाबाट आई राजधानीमा बसोवास गर्दै आएका धेरै व्यक्ति यसअघिको अभियानमा छुटेकाले जिल्ला निर्वाचन कार्यालय काठमाडौंले फोटोसहितको मतदाता परिचयपत्र बनाउन फेरि नामावली संकलन गर्न लागेको हो । आयोगको निर्देशनअनुरूप जिल्ला निर्वाचन कार्यालयले जिल्लामा गई परिचयपत्र बनाउन नभ्याएका र यहाँ स्थायी बसोवास भई मतदाता परिचयपत्र नबनाएका व्यक्तिलाई लक्ष्य गरी १ चैतदेखि ३० गतेसम्म घर–घरमा गई नामावली संकलन गर्नेछ ।
अभियान सञ्चालनका लागि काठमाडौं जिल्लाका ५७ वटै गाविससहित काठमाडौं महानगरपालिकाका सबै वडा र कीर्तिपुर नगरपालिकामा सामाजिक परिचालक खटाइने भएको छ । ती परिचालकले मतदाता नामावली भर्न छुटेका व्यक्तिको नामावली संकलन, मतदाता नामावली शुद्धता र यसको महत्त्वबारे जानकारी गराउनेछन् ।
कार्यालयले काठमाडौंमा फोटोसहितको मतदाता परिचयपत्र बनाउन चार लाखसम्म बाँकी रहेको अनुमान गरेको छ । ती मतदाताको फोटोसहितको परिचयपत्र बनाउन फेरि अभियान सञ्चालन गर्न लागिएको काठमाडौं निर्वाचन कार्यालयका प्रमुख शम्भुप्रसाद चालिसेले जानकारी दिए । भने, ‘बाहिरी जिल्लाका मतदाताका लागि पनि फोटोसहितको मतदाता नामावली संकलन गरी सम्बन्धित जिल्लामा पठाइनेछ ।’
कार्यालयका अनुसार काठमाडौंमा स्थायी बसोवास गरेका पाँच लाखभन्दा बढी मतदाता र विभिन्न जिल्लाबाट यहाँ आई बसोवास गर्दै आएका एक लाख ५० हजारभन्दा बढी मतादाताको फोटोसहितको परिचयपत्र बनाई सम्बन्धित जिल्लामा पठाइसकिएको छ । (सौस)
प्रतिक्रिया