आर्चरी ग्राँ पी टोली थाइल्यान्डतर्फ

काठमाडौं : थाइल्यान्डको बैंककमा हुने एसियाली आर्चरी ग्राँ पीमा सहभागी हुने नेपाली टोली बिहीबार थाइल्यान्डतर्फ प्रस्थान गरेको छ । ३ पुरुष खेलाडीसहित ५ सदस्यीय टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्दै छ । ९ देखि १४ मार्चसम्म सञ्चालन हुने प्रतियोगितामा जितबहादुर मोक्तान, प्रेमप्रसाद पुन र रमेश भट्टचनले प्रतिस्पर्धा गर्नेछन् । उनीहरूले ‘डबल सेभेन्टी’ (७० मिटरको दूरीमा ७२ तिर प्रहार गर्नुपर्ने अन्तर्गत व्यक्तिगत र समूहगत स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

एसियामा तीनपटक एसियाली स्तरको ग्राँ पी हुने गर्दछ । थाइल्यान्डमा हुन लागेको उक्त ग्राँ पी वर्ष–२०१३ को पहिलो हो । दोस्रो काजाकिस्तान र तेस्रो ताइपेइमा हुने नेपाल आर्चरी संघले जनाएको छ । सन् २०१० मा इरानमा भएको ग्राँ पीमा नेपाल समूहगत स्पर्धामा चौथो भएको थियो । त्यो नै ग्राँ पीमा नेपालको अहिलेसम्मकै ठूलो उपलिब्ध हो ।
टोली नेतामा आर्चरी संघका अध्यक्ष लक्ष्मण श्रेष्ठ तथा प्रशिक्षकमा लि चुन चुङ वुन (कोरियाली) रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले बिदाइ गरे । (सौस)

प्रतिक्रिया