क्षयरोगमुक्त जिल्ला बनाउन अभियान

भक्तपुर, २४ फागुन । भक्तपुर जिल्लालाई सन् २०१५भित्र क्षयरोगमुक्त जिल्ला बनाइने भएको छ । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले जिल्लालाई क्षयरोग मुक्त बनाउन अभियान थालेको जानकारी दिएको छ ।

सो संस्था र जिल्ला विकास समिति भक्तपुरको साझेदारीमा हिजो यहाँ भएको जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसीले जिल्लालाई क्षयरोगमुक्त जिल्ला बनाउन जिविसले आवश्यक सहयोग गर्ने बताए । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरका सभापति बाबुकाजी श्रेष्ठले ‘घर–घरबाट क्षयरोग भगाऔँ २०१५ सम्ममा क्षयरोग मुक्त जिल्ला बनाऊँ’ भन्ने नाराका साथ संस्थाले अभियान सञ्चालन गरेको बताए ।
त्यस अवसरमा प्रतियोगितामा प्रथम हुने कमलविनायकस्थित मनकामना इंलिस सेकेन्डरी स्कुल, द्वितीय हुने जेन्युन इंलिस सेकेन्डरी स्कुल, तृतीय हुने वागीश्वरी उच्च मावि र सान्त्वना प्राप्त गर्ने जेसिस इंलिस स्कुललाई केसीले सिल्ड, पदक र प्रमाणपत्र वितरण गरे ।

प्रतिक्रिया