गायत्रीको “आराधना” सार्वजनिक

Gayatri-Thapaकाठमाडौं : गायिका तथा गीतकार गायत्री थापाको भक्तिप्रधान गीति संग्रह ‘आराधना’ विमोचन भएको छ । मंगलबार पशुपतिस्थित वृद्धाश्रममा आयोजित उक कार्यक्रमा सिएनएन हिरो अनुराधा कोइराला, पूर्वमन्त्री तथा एमाले नेता गोकर्ण विष्टलगायतले एल्बमको विमोचन गरे । सोही अवसरमा आश्रममा रहेका वृद्धवृद्धालाई फलफूल वितरण गरिएको थियो ।
कार्यक्रममा सिएनएन हिरो कोइरालाले अहिलको समयमा पनि गायत्रीले भक्तिगीतको एल्बम श्रोतामाझ ल्याएर पुण्य काम गरेको बताइन् । उनले भनिन्, ‘धर्मकर्ममा विश्वास गर्ने सबैका लागि ‘आराधना’ संग्रहणीय एल्बम हो र यी भजन स्कुल, कलेजमा पनि सुनाउनु पर्छ, ताकि आफ्नो धर्म र संस्कारप्रति नयाँ पुस्तामा पनि आस्था बढेर जाओस् ।’
त्यस्तै एल्बम विमोचनमा बोलाएर वृद्धाश्रममा आउने अवसर प्रदान गरेकोमा निकै खुसी लागेको पूर्वमन्त्री गोकर्ण बिष्टले बताए । उनले भने, ‘एल्बम विमोचनसँगै वृद्धवृद्धाको दर्शन गर्न पाएँ । यो मेरो अहोभाग्य हो ।’ महाशिवयात्रीको संघारमा भक्तिप्रधान एल्बम ल्याएकी गायिका गायत्रीले ढिलै भए पनि आफ्नो इच्छा पूरा भएको बताइन् । यसअघि दुई एल्बम ल्याइसकेकी गायत्रीको भजन एल्बम भने पहिलो हो । गायत्रीले ‘आराधना’ एल्बमलाई
‘भगवान्प्रतिको आस्था र विश्वासको प्रतीक’ भनेकी छन् ।
एल्बम ‘आराधना’ मा ‘जय शिव’, ‘परमेश्वरको ध्यान गरी’, ‘डम्बरु बजाइ’, ‘जय महादेव’, ‘खाली आयौ खाली जान्छौं’ र ‘विनायकका तिमी’लगायत बोलका भक्तिगीत छन् । एल्बमका भजनमा शिव परियार, गायत्री थापा, नरेन्द्र प्यासी, सन्तोष केसी, नरहरि प्रेमी, मनिषा पोखरेललगायतको स्वर छ भने कोमल सौराह, नरहरि प्रेमी, रिमेशकुमार, आशिष अविरल, सन्तोष केसी र राजकुमार बगरको संगीत छ । (सौस)

प्रतिक्रिया