भुटानलाई पन्छाउँदै एपिएफ अन्तिम चारमा

Birat-Gold-cupविराटनगर, २३ फागुन । सशस्त्र प्रहरी बलको एपिएफ विराटनगरमा जारी रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । उसले मंगलबार सम्पन्न पहिलो क्वाटरफाइनलमा भुटानको सिएफसीलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

खेलको एकमात्र निर्णायक गोल एपिएफका दीपक खड्काले ८६ औँ मिनेटमा गरेका थिए । उनले नवीन लामाको क्रसपासलाई सदुपयोग गर्दै सानदार गोल गरेका थिए । श्याम नेपालीको सट्टामा ५३ औँ मिनेटमा मैदान प्रवेश गरेका खड्काले गरेको गोल नै निर्णायक बन्न पुगेको थियो ।
खेलको सुरुआतदेखि नै आक्रामक बनेको भुटानले २४ मिनेटमा सेतु राईको क्रसपासलाई दावा लामाले हेडिङ गरेको बल बारमा लागेर फर्किनु नै भुटानका लागि दुर्भाग्य साबित भयो । ३०औँ मिनेटमा एपिएफका नवीन लामाको कडा प्रहार सेकेन्ड बारबाट बाहिरिएपछि एपिएफले अग्रता पाउने सुनौलो अवसर भने चुकाएको थिए । भुटानका दावा लामाले धेरै पटक गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपरेको थियो ।
खेलको म्यान अफ द म्याच भुटानका सेतु राई घोषित भए । भुटानका प्रशिक्षक विकास प्रधानले टिमले हार्नुको मुख्य कारण रेफ्री एपिएफको समर्थनमा लागेको आरोप लगाए । उता एपिएफका प्रशिक्षक जनक सिंहले खेलाडीहरूले सोचेजस्तो स्कोर गर्न नसकेको र डिफेन्डर मिलन राईका बुबा खसेका कारणले उनको अभाव टोलीलाई निकै खड्किएको विचार व्यक्त गरे । बुधबार मणिपुर फुटबल क्लब भारत र सिम्रिक सरस्वती युवा क्लब काठमाडौंबीच दोस्रो क्वाटरफाइनल हुनेछ ।

प्रतिक्रिया