पाकिस्तानी प्रधानमन्त्रीले भारत भ्रमण गर्ने

नयाँदिल्ली : पाकिस्तानी प्रधानमन्त्री रजा परवेज असरफले यसै साता भारत भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री बनेयता उनले पहिलोपटक भारत भ्रमण गर्न लागेका हुन् । भारतस्थित मुसलमान धर्मावलम्बीको तीर्थस्थल दर्शनका लागि उनी भारत आउन लागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनले शनिबार भारत भ्रमण गर्ने बताइएको छ । भ्रमणका लागि आवश्यक तयारी भइरहेको प्रधानमन्त्री असरफ निकट स्रोतले जनाएको छ । उनका साथमा उनकी श्रीमती पनि रहने जनाइएको छ ।
एक भारतीय कूटनीतिक अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘यो उहाँको निजी भ्रमण हो । भ्रमणका क्रममा उहाँका साथमा श्रीमती र केही सरकारी अधिकारी रहनेछन् ।’ नितान्त निजी भ्रमण रहेकाले यस क्रममा उनले भारतका कुनै पनि नेतासँग भेट्ने कार्यक्रम नरहेको जानकारी उनले दिए । प्रधानमन्त्री असरफले भारतको राजधानी नयाँदिल्लीबाट करिब चार सय किलोमिटर पश्चिममा रहेको पवित्र अजमेर सरिफको दर्शन गर्ने बताइएको छ ।
एक पाकिस्तानी अधिकारीले समेत आगामी शनिबार प्रधानमन्त्री असरफले भारतको भ्रमण गर्ने पुष्टि गरे । तर, भ्रमणका सम्पूर्ण कार्यक्रम भने तय भइनसकेको जानकारी उनले दिए । गत वर्ष अप्रिलमा पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारीपछि पाकिस्तान सरकारका तर्फबाट भएको यो नै पहिलो उच्चस्तरीय भारत भ्रमण हो । हालैका दिनमा भारत र पाकिस्ताबीचको सीमा विवाद चुलिएको छ । सीमा क्षेत्रमा तैनाथ दुवै देशका सुरक्षाकर्मीबीच गोली हानाहान हुँदा केही साताअघि दुवै पक्षका दुई/दुई गरी जम्मा चार सैनिकको मृत्यु भएको थियो । त्यसपछि दुई देशबीचको सम्बन्ध ज्यादै बिग्रिएको बताइएका बेला पाकिस्तानी प्रधानमन्त्रीले भारत भ्रमण गर्न लागेका हुन् । (एएफपी)

प्रतिक्रिया