बारम्बार पेट्रोलियम अभाव किन ?

विदेशबाट खरिद गरेर ल्याउनुपर्ने पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि नेपालमा पेट्रोलियम पदार्थको अभाव खड्किएको छ । नेपाल आयल नियगमले तेल ढुवानी गर्न नसक्दा राजधानीलगायत मुलुकका सबै क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भएको हो । भारतमा तेल लिन गएको ट्यांकरका सहचालकलाई भारतीय लुटेराले मारेपछि तेल ढुवानी व्यवसायी यही बेला आन्दोलित भएका छन् भने पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले यही समयमा कमिसन वृद्धिको माग गरेको छ । अत्यावश्यक वस्तुअन्तर्गत पर्ने पेट्रोलियम पदार्थको ढुवानी, बिक्री र वितरणमा बाधा पुर्‍याउन नहुने कानुन भए पनि उक्त कानुनको कुनै पक्षबाट पनि पालना भएको छैन । वर्षौ अगाडिदेखि पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा सहजता ल्याउन प्रयास भए पनि अहिले सम्मका सबै सरकार असफल भएका छन् । विभिन्न आयोग र समितिहरू बनाएर पेट्रोलियम पदार्थ आपूर्तिमा सहजता ल्याउने उपायहरू खोजियो । तर, घुस, कमिसन र अवैधानिक रूपमा रकम आर्जन गर्ने मानसिकता भएकाहरूले उपायहरू असफल बनाइ दिए । त्यसको प्रत्यक्ष असर मुलुकले नै भोगिरहेको छ । आफ्नै मुलुकमा उत्पादन नहुने तर, अत्यावश्यक वस्तु पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने एक मात्र नेपाल आयल निगम आपैँmमा बेकम्मा र अव्यवस्थित भएपछि यो क्षेत्र जहिले पनि विवादित बन्ने गरेको हो । निजी क्षेत्रलाई समेत सहभागी गराएर उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउनुपर्ने पेट्रोलियम पदार्थलाई सरकारमा रहेकाहरूले कमाउने माध्यम बनाएका छन् । एकै दिन मूल्यवृद्धि गर्दा करोडौं कमाउने उद्देश्य राख्नेहरूकै कारण नेपालमा बेलाकुबेला पेट्रोलियम पदार्थको अभाव सिर्जना गरिन्छ । यस्ता गैरकानुनी कार्य रोकेर सरकारले सहज आपूर्तिको व्यवस्था गर्नुपर्छ ।
नेपाली जनता लोडसेडिङको मार भोगिरहेका छन् । जलस्रोतको धनी मुलुक भने पनि देशका लागि जलस्रोत ‘आकाशको फल, आँखा तरी मर’ भने जस्तै भएको छ । यसले गर्दा नेपालीका लागि पेट्रोलियम पदार्थमात्र उद्योग र घर चलाउने माध्यम बनेको पाइन्छ । यो अत्यावश्यक वस्तु बन्न पुगेको छ । तर, सरकारमा बस्नेहरूले यसलाई दुहुना गाई बनाएर उपभोक्तालाई दु:ख दिने गरेका छन् । जसले गर्दा हचुवाका भरमा मूल्यवृद्धि गर्ने, दुवानी ठप्प पारिदिने, पेट्रोलपम्प बन्द गरिने र मजदुरहरूलाई हडताल गर्न लगाउने कामहरू हुने गरेका छन् । उपभोक्ताले बारम्बार सास्ती बेहोर्नु परेको छ । यो वर्षमात्र होइन प्रत्येक महिना जसो विभिन्न बहानामा अभाव सिर्जना गर्ने र दु:ख दिने काम भएको छ । यो गलत कार्य परम्पराकै रूपमा स्थापित हुनु मुलुककै दुर्भाग्य हो । किन बारम्बार यो क्षेत्रमा समस्या देखा पर्छ ? यो समस्या समाधानको दीर्घकालीन उपाय के हो ? यी प्रश्नहरूलाई गम्भीरतापूर्वक केलाएर सम्बन्धित पक्षले दीर्घकालीन रूपमा समाधान गर्ने उपाय खोज्नुपर्छ । यसका लागि अधिकार सम्पन्न आयोग बनाएर भए पनि समस्या निदान गर्न जरुरी छ ।
पेट्रोलियम पदार्थ अभाव हुन नदिन, यसमा हुने अत्यधिक चुहावट, भ्रष्टाचार, गैरकानुनी कमसिन र अनियमितता रोक्न जरुरी छ । अहिलेसम्म यस क्षेत्रबाट केही व्यक्ति मोटाउने र राष्ट्र दुब्लाउने काम भइरहेको छ । यो निकै दु:ख लाग्दो कुरा हो । यी सबै बेथिति हटाउन विभिन्न समयमा आयोग र समिति बनेका थिए । ती आयोग र समितिहरूले गहिरो छानविन र अध्ययनपछि सरकारलाई प्रतिवेदनहरू बुझाएका थिए । तर, सरकार बाहिर रहँदा समस्या समाधानको माग गर्ने दलहरू आफैँ सरकारमा गएपछि यसप्रति मौन रहन्छन् । जसले गर्दा पेट्रोलियम पदार्थको अभावलाई निरन्तरता दिने काम सबै दलहरूले गरेका छन् भन्न सकिन्छ । यता नेपाल आयल निगम अनुदानमा चलेको छ । वास्तवमा भन्ने हो भने आयल निगमको कुनै काम छैन । यो जहिले पनि घाटामा जान्छ । अत्यधिक चुहावट कमिसन र भ्रष्टाचारले नै यसलाई थला पारिसकेको छ । यदि पेट्रोलियम कारोबार गर्न निजी क्षेत्रलाई दिने हो भने चुहावट र कमिसनको ठूलो रकम खुवाउनुपर्ने छैन । जसले गर्दा सहज आपूर्ति र बिक्री वितरणमा सहजता आउनेछ । तसर्थ सेतो हात्ती बनेको आयल निगमको एकलौटी अधिकार बिकेन्द्रित गरेर निजी क्षेत्रलाई प्रतिस्पर्धामा ल्याउनुपर्छ । पेट्रोलियम पदार्थको अभाव हुन नदिने एक मात्र उपाय यही हो ।

प्रतिक्रिया