एक हजारले एसएलसी दिन नपाउने

काठमाडौं, २३ फागुन । आगामी चैतबाट सञ्चालन हुने एसएलसी परीक्षामा ३ सय ४४ जनाले दोहोरो रजिस्ट्रेसन भरेको पाइएको छ । दोहोरो रजिस्ट्रेसनसँगै प्रक्रिया नपुर्‍याएका करिब १ हजार विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरका सहनियन्त्रक प्रह्लाद अर्यालले ३ सय ४४ जना विद्यार्थीले दोहोरो रजिस्ट्रेसन र ६ सय २७ जनाले प्रक्रिया नपुर्‍याई फारम भरेको जानकारी गराए । पनिकाले दोहोरो रजिस्ट्रेसन भरेकाको परीक्षा रद्द गर्ने र प्रक्रिया नपुर्‍याई फारम भरेकाले परीक्षा नै दिन नपाउने व्यवस्था गरेको छ । दोहोरो रजिस्ट्रेसन भरेका ती सवै विद्यार्थीको परीक्षा रद्द हुने पनिकाका सहनियन्त्रक अर्यालले जानकारी गराए ।
दुर्गम र निजी विद्यालयका विद्यार्थीले सरकारी विद्यालयबाट पनि फारम भर्ने गरेको पाइएको छ । सबभन्दा बढी काठमाडौं जिल्लाका विद्यार्थीले दोहोरो रजिस्ट्रेसन भरेका हुन् । काठमाडौंका २६, अछामका १४, बैतडीका १२, बाराका १०, भक्तपुरका ८ र बाजुराका ४ जनाले दोहोरो रजिस्ट्रेसन फारम भरेको सहनियन्त्रक अर्यालले बताए ।
उनले दोहोरो रजिस्ट्रेसन फारम भरेका विद्यार्थीको परीक्षा रद्द हुनुको साथै आगामी वर्षमा पनि परीक्षा दिन नपाउने जानकारी दिए । ‘जानकारी गराउँदा गराउँदै दोहोरो रजिस्ट्रेसन फारम भरेकाले अहिले परीक्षा दिए पनि रद्द हुन्छ । अनि अर्को वर्ष पनि दिन पाउने छैन,’ उनले सौर्यसँग भने ।
पनिकाले दोहोरो रजिस्ट्रेसन भरेका विद्यार्थीले आफूले पढेको विद्यालयबाट मात्र कायम गराउन फागुन मसान्तसम्म निवेदन दिन आग्रह गरेको छ । त्यस्ता विद्यार्थीले विद्यालयको सिफारिसमा जिल्ला शिक्षा कार्यालयबाट पत्र ल्याए भने एउटै रजिस्ट्रेसन कायम गरिने अर्यालले बताए । यस वर्ष पनिकाले दोहोरो फारम भर्नेको परीक्षा रद्द हुने भनेपछि थोरैले मात्र भरेका हुन् । गत वर्ष २ हजार ५ सय विद्यार्थीले दोहोरो फारम भरेका थिए ।
यस्तै प्रक्रिया नपुर्‍याई फारम भरेका ३ सय जनाले पनि परीक्षा दिन नपाउने भएका छन् । समयमा नै फारम नभरेका तथा ‘अन्य’ नमिलेका ती विद्यार्थीले परीक्षा दिन नपाउने अर्यालले बताए । कपिलवस्तु जिल्लाबाट खुलाबाट फारम भरेका ३ सय २७ जनाले पनि परीक्षा दिन नपाउने भएका छन् । कुनै पनि विद्यालयमार्फत नभरी ट्युसन सेन्टरबाट भरेका ती विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुनेछन् । ट्युसन सेन्टरले जिल्ला शिक्षा कार्यालयबाट फारम लिई उनीहरूको फारम भरेको थियो ।
यस्तै पनिकाले अमर्यादित गर्ने विद्यार्थीलाई पूरक परीक्षामा सामेल नगराउने भएको छ । कुनै पनि विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गरे त्यस्ता विद्यार्थी पूरक परीक्षा दिन नपाउने पनिकाका सहनियन्त्रक अर्यालले जानकारी गराए । ‘परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन यस वर्षदेखि यस्तो गर्न थालिएको हो’ उनले भने ।
चैत १ गतेबाट सञ्चालन हुने परीक्षामा ५ लाख ४७ हजार १ सय ६५ परीक्षार्थी रहेकोमा ४ लाख ३० हजार ९७ नियमित र १ लाख १७ हजार ६८ एक्जाम्टेड छन् । परीक्षाका लागि १ हजार ७ सय ८६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया