नम्बर प्लेटविनै चिनिया गाडी सञ्चालित

लामाबगर : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा डेढ वर्षदेखि चिनियाँ गाडी अवैध रूपमा सञ्चालन भइरहेका छन् । माथिल्लो तामाकोसीको सिभिल निर्माणको काम गरिरहेको चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले आयोजनाका लागि ल्याएका गाडी नम्बर प्लेटविनै सञ्चालन गरेका हुन् । आयोजनाको सिभिल निर्माणका लागि सिनो हाइड्रोको २ वटा ब्युरो (सहायक कम्पनी)ले काम गरिरहेको छ । ६ नं. ब्युरोले पावरहाउस र टेलरेसको काम गरिरहेको छ भने ११ नं. ब्युरोले सडक, बाँधलगायत हेड वक्र्सको सबै कामको जिम्मेवारी लिएको छ । आयोजनाका लागि प्रयोग हुने ट्रिपर, आएमसी, ट्रकसहित धेरै गाडी भए पनि त्यसको जानकारी सरकारी निकायसँग छैन ।

आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीले विदेशबाट ल्याउने गाडीको यातायात व्यवस्था कार्यालयमा दर्ता गरेर अस्थायी नम्बर प्लेट राख्नुपर्ने नियम छ । तर, सुरक्षाका लागि नम्बर प्लेट राख्नुपर्ने भए पनि अढाई वर्ष बितिसक्दासमेत यहाँ सञ्चालित गाडीमा नम्बर प्लेट छैन । सिनो हाइड्रोले सिक्टा सिँचाइ आयोजना र कुलेखानी तेस्रोमा प्रयोग गरेका केही गाडीबाहेक सबैमा नम्बर प्लेट छैन । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद अधिकारीले जिल्लाका सुरक्षा निकायले समेत पटक–पटकको बैठकमा सुरक्षाका लागि भए पनि अस्थायी नम्बर प्लेट राख्न सिनोलाई आग्रह गरेको बताए । उनले भने, ‘हालसम्म पनि अटेर गरेकाले कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।’ आयोजनाको प्रवद्र्धक माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीले सिनो हाइड्रोलाई आºना सबै गाडीमा नम्बर प्लेट राखेर सञ्चालन गर्न पटक–पटक पत्र पठाए पनि यस विषयमा कुनै चासो राखेको छैन । आयोजनाका निमित्त प्रमुख विज्ञानप्रसाद श्रेष्ठले तुरुन्तै नम्बर प्लेट राखेर मात्र गाडी चलाउन धेरैपटक पत्र लेखेको बताए । सबै गाडीको जानकारी आयोजनासँग भएको उनी बताउँछन् । चिनियाँ चालकले समेत नेपाली चालक अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । (सौस)

प्रतिक्रिया