दुई दिनमा सहमति खोजिन्छ : खनाल

Jn-n-Kpझापा, २२ फागुन । एमाले अध्यक्ष झलनाथ खनालले राजनीतिका सबै विवादित विषयमा सहमति भइनसकेको बताएका छन् । ‘राजनीतिक सहमति कायम गर्नका लागि हामी वार्ता गरिरेहका छौँ,’ एमाले झापाको नवौँ जिल्ला अधिवेशनको सोमबार सुखानीमा उद्घाटन गर्दै अध्यक्ष खनालले भने, ‘धेरै कुरामा सहमति हुन बाँकी छ, हामी दुई दिन भित्र सहमतिमा पुग्ने प्रयत्नमा छौँ ।’

माओवादीले राजनीतिक संकट निम्त्याएकाले सहमति गाह्रो बनेको आरोप खनालले लगाए । राजनीतिक निकासका लागि प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिन लागेको उनले बताए । ‘दलको नेतृत्वमा सहमति हुन नसकेकोले प्रधानन्यायाधीशको नेतृत्व स्वीकार्नु परेको हो,’ उनले भने, ‘बहालवाला प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिँदा संविधानअनुकूल हुने भएकाले हामी यो विकल्पमा पुगेका हौँ ।’
अध्यक्ष खनालले संविधानका कैयौँ धारा निस्क्रिय बन्दै गएकाले निर्वाचन अनिवार्य भएको बताए । माओवादीले अघि सारेको प्रस्ताव उसैका लागि पेरुंगो बनेको भन्दै खनालले माओवादीले सत्ता लम्ब्याउन आलटाल गरिरहेको आरोप लगाए । माओवादीले उग्रवादी चिन्तन नत्यागेको आरोप लगाउँदै उनले भने, ‘माओवादी शिरदेखि तिरसम्म चिरा परेको छ । उसको अस्तित्व मधेसवादी दलको बैसाखीमा अडेको छ ।’
झापा बिद्रोहका पाँच योद्धालाई ०२९ साल फागुन २१ गते झापा र इलामको सीमास्थल सुखानीमा पञ्चायती सरकारले गोली हानी हत्या गरेको थियो । अध्यक्ष खनालले सुखानीमा हत्या गरिएका सहिदहरूको बलिदानलाई पार्टीले नभुलेको बताए । एमालेलाई मुलुककै ठूलो पार्टी नबनाएसम्म विश्राम नलिन उनले कार्यकर्तासँग आग्रह गरे ।
कार्यक्रममा एमाले वरिष्ठ नेता केपी ओलीले सरकारलाई चाँडै बिदा गरिने बताए । माओवादीबाट संविधान बन्न नसक्ने ठोकुवा गर्दै उनले ठट्यौली पारामा भनेँ, ‘सुकाएको बिस्कुन चल्ला भएको पोथी कुखुरीलाई रुङ्न लगाए जस्तै भो संविधानसभा । कुखुराले बिस्कुन खोस्रिए जस्तो माओवादीले पनि संविधानसभा खोस्रियो ।’ संविधान बनाउन अब एमालेलाई ठूलो पार्टी बनाउनु आवश्यक भएको जिकिर नेता ओलीले गरे ।

प्रतिक्रिया