चितवनमा सांगीतिक उत्सव हुने

Chitwanचितवन, २२ फागुन । संगीत पारखीको चाहनालाई मध्येनजर राखेर चितवनको क्याम्पौचरमा चितवन सांगीतिक उत्सव ०६९ को आयोजना हुने भएको छ । आफ्नो १० वर्ष पुगेको उपलक्ष्यमा एटुजेड मोबाइल हाउस नारायणगढले चितवन बहिरा संघको सहयोगार्थ फागुन २६ गते सो उत्सव गर्न लागेको हो ।

व्यवसायसँगै सामाजिक उत्तरदायित्व वहन गर्न उत्सवको आयोजना गर्न लागिएको सोमबार नारायणगढमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उत्सवका संयोजक एवं एटुजेड मोबाइल हाउसका सञ्चालक दिवाकर गुरुङले जानकारी गराए । कार्यक्रममा युवावर्गले रुचाएका उत्कृष्ट पप तथा रक, मन्त्र, द स्याडोज, ब्यान्डलगायत गायक सविन राईको पनि एउटै मञ्चमा सांगीतिक प्रस्तुति रहनेछ । उनले भने­ ‘ग्राहकवर्गलाई सांगीतिक मज्जा पनि मिल्छ र हाम्रो सामाजिक अग्रसरता पनि रहन्छ ।’ उक्त मोवाइल हाउसले ग्राहकलाई भने टिकटमा ८० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ ।
सुरक्षाको दृष्टिकोणबाट उत्सवमा मदिरापान गरेर प्रवेश गर्न, धारिलो वस्तु, झोला, हेलमेटलगायतका वस्तुहरू लिएर जान पूर्णरूपमा निषेध गरिएको छ । यस्तै गरी दर्शकको सुविधाको लागि उत्सव हुने स्थलभित्रै शौचालयको सुविधाका साथमा फास्टफुड र पानीका लागि छुट्टै पसलको व्यवस्था गरिएको उत्सव संयोजन समितिका सुशील भेटवालले बताए ।
एक सय रुपियाँको टिकट कायम गरिएको उक्त उत्सवमा दस हजारभन्दा बढी दर्शकको सहभागिता रहने र ११ लाख खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया