भगवान्लाई काम गर्न देऊ

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक डा. भगवान् कोइरालाले राजीनामा दिएका छन् । तीन महिनाअघि मात्र निर्देशकमा नियुक्त भएका डा. कोइरालाले वार्षिक २० करोड घाटामा गएको अस्पताललाई एक महिनामै नाफामा पुर्‍याएका थिए । उनले त्यहाँ कुनै चमत्कार गरेका थिएनन् । अत्यधिक भ्रष्टाचार र चुहावट रोक्ने काम गरेपछि शिक्षण अस्पताल बौरिएको थियो । तर, सफा र पवित्र उद्देश्य लिएर सेवाभावमा समर्पित डाक्टर तथा व्यवस्थापक कोइरालाका कारण भ्रष्टाचार तथा अनियमितता गरेर अकुत सम्पत्ति कमाउनेहरूलाई बाधा पुग्यो । जसले गर्दा एक कुशल व्यवस्थापक डा. कोइरालालाई राजीनामा दिन बाध्य पारियो । डा. कोइरालालाई अस्पतालकै वरिष्ठ चिकित्सक र केही कर्मचारीले असहयोग गरेपछि उनले राजीनामा दिए । आर्थिक रूपमा धराशयी बन्दै गएको अस्पताललाई कुशल व्यवस्थापनद्वारा दुरुस्त बनाउन सफल कोइरालासँग भ्रष्टहरू चिडिनु स्वाभाविक थियो । तर, दुर्भाग्य अस्पतालको चिकित्सक र कर्मचारीले यो अस्पताललाई समाप्त गरेरै भए पनि व्यक्तिगत लाभ लिन खोजेपछि कोइरालाजस्ता स्वाभिमानी व्यक्तिले त्यहाँ टिक्नसक्ने अवस्था आएन । डा. कोइरालाले राजीनामा दिएपछि त्यहाँका भ्रष्टहरू खुसी भएका छन्, अनियमितता गर्नेहरू रमाएका छन् र अस्पताल समाप्त पार्न तम्सिएकाहरू उत्साही भएका छन् । अब ती भ्रष्ट र गैरकानुनी रूपमा आयआर्जन गर्नेहरूलाई छानिछानी कारबाही नगर्ने हो भने एउटा राम्रो अस्पताल समाप्त हुनसक्छ । यसतर्फ भने सबैले सोच्नै पर्छ ।
अस्पतलामा सेवा सुरु गरेलगत्तै डा. कोइरालाले औषधि पसल अस्पतालले नै सञ्चालन गर्ने योजना, अस्पतालमा कार्यरत चिकित्सकलाई कार्यालय समयभित्र निजी क्लिनिकमा जानबाट रोक्ने, आर्थिक अनुशासन कायम गर्ने, मितव्ययिता अपनाउने, शिक्षण अस्पतालमा आएका बिरामीलाई बाहिरका पोलिक्लिनिक, नर्सिङ होम र निजी अस्पतालमा पठाउने कार्यको नियन्त्रण गर्ने कार्यको थालनी गरेका थिए । यसका साथै हाजिर मात्र गरेर तलब खाने, अस्पतालमा केही घन्टा बसेर ओभरटाइम खाने प्रवृत्तिलाई नियन्त्रण गर्न पनि डा. कोइराला सफल भएका थिए । यही कारणले गर्दा अस्पतालको आर्थिक अवस्था सुदृढ बन्दै गएको थियो । तर, यो कार्यलाई बसेर खान पल्किएकाहरूले मन पराएनन् वरिपरिका व्यक्ति र वर्तमान सरकारको आडमा पाखुरा सुर्कंदै खान आउने जमातले पनि डा. कोइरालाको सुधारमुखी कार्य रुचाएनन् । त्रिवी शिक्षण अस्पताललाई नमुना अस्पतालका रूपमा स्थापित गर्न भगीरथ प्रयत्नमा जुटेका कोइरालालाई एक्लो बनाइयो र राजीनामा दिन बाध्य पारियो । अर्थात् एक सफल व्यक्तिलाई असफल बनाउन षड्यन्त्रपूर्ण खेलहरू भए । यदि, उनको राजीनामा फिर्ता गराएर काम गर्ने वातावरण सिर्जना नगर्ने हो भने त्रिवि शिक्षण अस्पतालको अवस्था झनै नराम्रो बन्नेछ, त्यसले राष्ट्रलाई नै असर पार्नेछ ।
गंगालाल हृदय रोग केन्द्र स्थापना गरेर त्यसलाई नेपालकै नमुना अस्पताल बनाउन सफल डा. कोइरालाले त्रिवि शिक्षण अस्पतालमा आएपछि त्यसलाई पनि नमुना अस्पतालमा रूपान्तरण गर्दै थिए । पाँच सय शय्याको यो अस्पताल नेपाली जनताका लागि भरपर्दो, विश्वासिलो, सहज र सुविधा सम्पन्न अस्पताल हो । यसलाई समाप्त पार्न केही निजी अस्पतालदेखि राजनीतिकर्मीसमेत लागेका छन् । यो मानव स्वास्थ्यसँग जोडिएको संवेदनशील विषयमा देखिएको कुटिल र अपाच्य व्यवहार सरकारले नरोक्ने हो भने असल, सक्षम र योग्य चिकित्सकहरू पलायन हुने अवस्था आउँछ । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भित्रिएको घृणित राजनीतिले मानवीय स्वास्थ्यसँग प्रत्यक्ष खेलबाड गरिरहेको छ । यस्ता घृणित र पाखण्डपूर्व कार्य रोकिनुपर्छ । डा. कोइरालाले राजीनामा दिनुको कारण, उनलाई असहयोग नगर्नेहरूको माग र भ्रष्टाचार तथा अनियमितता गर्नेहरूको सूची सार्वजनिक गरिनुपर्छ । अस्पतालमा बेथिति र विसंगति भित्र्याएर व्यक्तिगत फाइदा लिन खोज्नेहरूलाई त्यहाँबाट हटाएर कोइरालालाई काम गर्ने वातावरण बनाइदिनुपर्छ । अन्यथा, एउटा राम्रो र भरपर्दो अस्पतालको सेवाबाट नेपाली जनता वञ्चित हुनुपर्ने अवस्था आउँछ ।

प्रतिक्रिया