उपराष्ट्रपतिलाई प्रधानमन्त्री बनाउन माग

Prmananda-Jha-1काठमाडौं, २२ फागुन । संविधानसभाको अर्को निर्वाचनका लागि तयारी अवस्थामा रहेका साना दलका राजनीतिक गठबन्धनले उपराष्ट्रपति परमानन्द झाको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने माग अघि सारेको छ । नेपालको अन्तरिम संविधानबाटै राजनीतिक निकास खोजिनुपर्ने भन्दै गठबन्धन नेताले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु संविधानविपरीत हुने तर्क गरेका छन् ।

निर्वाचन आयोगमा दर्ता भएका विभिन्न ४३ वटा राजनीतिक दलको गठबन्धनले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संविधानको धारा ३६ ग र झ १ बमोजिम संविधानसभाको विघटनपछि राष्ट्रपति र उपराष्ट्रपति मात्रै वैधानिक संस्थाका रूपमा बाँकी रहेको भन्दै निकासका लागि राष्ट्रपतिले उपराष्ट्रपतिको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्नेमा जोड दियो ।
कार्यक्रममा गठबन्धनका संयोजक शोभाराम थापाले ठूला दलको सिन्डिकेटमा परेर मुलुक अप्ठ्यारो अवस्थामा पुगेको आरोप लगाउँदै राष्ट्रपति चार दलको घेराबाट निस्किएर निकास दिन लाग्नुपर्ने बताए । उनले संविधानबाहिरबाट खोजिने निकास आफूहरूलाई मान्य नहुने भन्दै संविधानत: वैधानिक हैसियतमा रहेका उपराष्ट्रपतिको नेतृत्वमा चुनावी सरकार गठन गरेर मुलुकलाई निकास दिन माग गरे । उनले प्रधानन्यायाधीशको नेतृत्त्वमा चुनावी सरकार गठन गर्नु संविधान र लोकतन्त्रको बलात्कार हुने भन्दै संविधान र लोकतन्त्रलाई बचाइराख्न राष्ट्रपतिको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलसँगको छलफलका आधारमा मन्त्रिपरिषद् गठन गर्नुपर्ने बताए ।

प्रतिक्रिया