“हतियार त्याग्नेसँग मात्र वार्ता”

siriलन्डन : सिरियाली राष्ट्रपति बसर अल असदले सिरियामा सशस्त्र विद्रोह सञ्चालन गरिरहेका विपक्षीसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् । यद्यपि, वार्ताका लागि आफूले राजीनामा दिनुपर्ने पूर्वसर्त भने कुनै हालतमा स्वीकार गर्न नसकिने उनले प्रस्ट पारेका छन् । साथै, विपक्षीले हतियार नत्यागेसम्म उनीहरूसँग वार्ता नहुनेसमेत जनाएका छन् ।
सिरियाली संकट समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले सक्रियता देखाइरहेका बेला एक अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । राष्ट्रपति असदले हतियार बिसाएर वार्तामा आउन विपक्षीसँग आह्वानसमेत गरेका छन् ।
‘हतियारसहित आत्मसमर्पण गर्ने विद्रोहीसँग मात्र वार्ता गर्न सिरियाली सत्ता तयार छ,’ सनडे टाइम्ससँगको अन्तर्वार्तामा उनले भने । उनले मुलुकविरुद्ध लाग्ने र आतंकवादीसँग समेत वार्ता नगरिने प्रस्ट
पारेका छन् ।
यसअघि समेत राष्ट्रपति असदले विदेशीको आडमा विपक्षीले विदेशीले मुलुकमा हिंसा मच्चाएको आरोप लगाउँदै उनीहरूलाई धुलो चाटाइछाड्ने चेतावनी दिएका थिए । आफ्नो राजीनामा माग गर्दै करिब दुई वर्षदेखि जारी आन्दोलन र सशस्त्र विद्रोहतर्फ लक्षित गर्दै असदले सरकारविरोधी लडाइँमा सरियाली नागरिकको संलग्नता नरहेको दाबी गरेका थिए ।
राष्ट्रपति असदले विद्रोहीहरूलाई ‘आतंकवादी’ र ‘विदेशी दलाल’को संज्ञा दिँदै आएका छन् । सिरियाली संकट समाधानका लागि यसअघि उनले शान्ति योजना प्रस्ताव गरेका थिए, जसमा मुलुकमा मेलमिलाप स्थापनाका लागि बृहत् राजनीतिक सम्मेलन आयोजना उल्लेख भए पनि ‘सिरियालाई धोका दिने’लाई यसमा सहभागी नगराइने प्रस्ट पारेका थिए । दुईचार राष्ट्रद्रोही हातमा लिएर विदेशीले सिरियाविरुद्ध आरम्भ गरेको युद्धको डटेर प्रतिरोध गर्न उनले देशवासीसमक्ष आह्वान गरेका थिए ।
सन् २०११ को मार्चदेखि सिरियामा जारी आन्दोलन तथा सशस्त्र विद्रोहका क्रममा ७० हजारभन्दा बढीको ज्यान गइसकेको बताइएको छ । राष्ट्रपति असदको राजीनामालाई विद्रोहीहरूले वार्ताको पूर्वसर्त मानिरहेका बेला राजीनामा नदिने र सत्ता पनि नछोड्ने अडानबाट असद टसमस नभएपछि सिरियाली संकट अझ बढ्ने जोखिम बढेको छ । (एएफपी)

प्रतिक्रिया