धनकुटा क्याम्पसमा प्रमुखको कुर्सी जलाइयो

धनकुटा, २१ फागुन । कांग्रेस भ्रातृसंगठन नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाइ समितिले आइतबार क्याम्पस प्रमुख र निमित्त क्याम्पस प्रमुखको कुर्सी जलाएको छ ।

क्याम्पस प्रमुखलाई बुझाइएको १३ बुँदे मागपत्रको बेवास्ता गरेका कारण यस्तो काम गर्नुपरेको संघले जनाएको छ । आफूहरूले राखेको मागप्रति क्याम्पस प्रशासनले बेवास्ता गरेकाले क्याम्पस प्रमुख डा. गोपालबहादुर भट्टराई र निमित्त क्याम्पस प्रमुख रामअखिलेश साहको कुर्सी जलाइएको संघका इकाइ अध्यक्ष प्रकाश पुलामी मगरले बताए । उनीहरूले क्याम्पस प्रमुख र निमित्त क्याम्पस प्रमुखको कुर्सी कार्यकक्षबाहिर निकालेर जलाएका थिए ।
संघले तीनदिने अल्टिमेटम राखेर विज्ञान तथा प्रविधि संकायमा रिक्त सहायक क्याम्पस प्रमुख कोटाको पदपूर्ति गर्नुपर्ने, विज्ञान संकायमा प्रयोगात्मक कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र जनशक्ति तुरुन्त व्यवस्था गर्नुपर्ने, पुस्तकालयमा सवै संकायका विद्यार्थीको अनुपातअनुसार पुस्तकको व्यवस्था गर्नुपर्नेलगायत माग राखेर ज्ञापनपत्र बुझाएको थियो ।
संघका मागहरू सम्बोधनको तयारी भइरहेको बेला विद्यार्थीले कुर्सी जलाउनु राष्ट्रको सम्पत्तिमा क्षति भएको क्याम्पस प्रमुख डा. भट्टराईले बताए । उनले विद्यार्थीका मागको सम्बन्धमा योजना बनेको र बजेटसमेत छुट्याइएको बताए । उनले प्राध्यापक नियुक्ति प्रक्रिया लामो हुने भएको कारण प्राध्यापक नियुक्ति गर्न क्याम्पस प्रमुखको अधिकार नभएकोले सम्बन्धित निकायमा यसको लागि माग गर्नुपर्ने वताए । उनले विज्ञान संकायको सहायक प्रमुख नियुक्तिका लागि रिफारिस भइरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया