प्रधानन्यायाधीशले आफूविरुद्धको रिट पेसीबाट हटाए

काठमाठौं, २१ फागुन । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाउने राजनीतिक सहमति बदरको माग गर्दै दायर भएको रिटलाई सर्वाेच्चले षड्यन्त्रपूर्वक आइतबार पेसी सूचीबाट हटाएको छ । प्रधानन्यायाधीश रेग्मीको प्रत्यक्ष निर्देशनमै यस्तो भएको हो ।

प्रधानन्यायाधीश, पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशहरू चुनावी सरकारको प्रमुख बन्न नसक्ने भएकाले राजनीतिक वृत्तमा भएको सहमति खारेजको माग गर्दै डेमोक्रयाटिक लयर्स एसोसिएसनका तर्फबाट अधिवक्ता ओमप्रकाश अर्यालले गत १५ फागुनमा रिट दायर गरेका थिए । रिटको सुनुवाइका लागि सर्वाेच्च अदालतले १८ फागुनमा पेसी सूचीमा राखेको थियो । त्यस दिन रिटमा सुनुवाइ गर्ने पालो नआएपछि २० फागुन (आइतबार) का लागि तोकिएको थियो । तर, सर्वाेच्चले षड्यन्त्रपूर्वक पेसी सूचीबाट हटाएको रिट निवेदक अर्यालले बताए ।
सर्वाेच्च अदालतमा परेका मुद्दाको दैनिक पेसी तोक्ने काम प्रधानन्यायाधीशले गर्छन् । तर, उनले आफूलाई प्रधानमन्त्री बन्नबाट रोक्नेगरी आएको रिटलाई सर्वाेच्चको नियमित प्रक्रियाभन्दा बाहिर गएर हटाएको दाबी अर्यालले गरेका छन् ।
‘सर्वाेच्च अदालतको नियमविपरीत नियतवश र षड्यन्त्रपूर्वक मेरो रिट पेसी सूचीबाट हटाइयो’, अधिवक्ता अर्यालले भने । आफ्नो भन्दा पछाडि दर्ता भएको रिटलाई प्राथमिकतामा राखी पेसी तोकेको तर आफ्नो रिटलाई प्रधानन्यायाधीशले षड्यन्त्रपूर्वक दैनिक पेसी सूचीमा नपारेको उनले बताए ।
‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्विरुद्ध १६ फागुनमा अर्जुनकान्त मैनालीले दायर गरेको रिट सुनुवाइका लागि ११ नम्बरमा तोकिएको छ । जबकि त्योभन्दा अगाडि १५ फागुनमा दर्ता भएको मेरो रिटको पालो हो,’ अर्यालले भने, ‘शुक्रबार तोकेको दैनिक पेसी सूचीमा मैनालीको ५९औँ र मेरो ५८औँ नम्बरमा थियो ।’
दैनिक पेसीबाट आफ्नो रिटलाई षड्यन्त्रपूर्वक सूचीबाट हटाएपछि जिकिर गर्दै अर्यालले आइतबार सर्वाेच्च अदालतमा गुनासो निवेदनसमेत दिएका छन् । उनले निवेदनमा आफूभन्दा पछाडिका रिट सुनुवाइका लागि सूचीमा पर्ने तर आफ्नो नपर्नुको कारण मागेका छन् ।
उता, सर्वाेच्च अदालतले भने अर्यालको रिट नियतवश या षड्यन्त्रपूर्वक नहटाएको तर प्राविधिक त्रुटि भएको बताएको छ । प्रवक्ता श्रीकान्त पौडेलले नियतवश कुनै रिटलाई प्राथमिकता दिने या कसैलाई हटाउने काम सर्वाेच्चले नगर्ने बताए । ‘यो प्राविधिक त्रुटि भएको हो, यसमा कुनै नियत या षड्यन्त्र छैन,’ उनले भने ।

प्रतिक्रिया