एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँदरमुडे घटना पीडितका लागि घोषणा गर्ने भनेको राहत प्याकेजलाई कसरी लिनुभएको छ ?

आगामी जेठमा चुनाव हुने चर्चा चलिरहेका बेला एमाओवादी अध्यक्ष प्रचण्डले बाँदरमुडे घटनाका पीडितहरूका लागि राहत प्याकेज घोषणा गर्ने बताएका छन् । यो उनको चुनावी प्रचार प्रसारका लागि मात्रै हो । द्वन्द्वका क्रममा पीडितहरूलाई राहत दिने काम त शान्ति मन्त्रालयमार्फत आफ्नै प्रक्रियामा हुन्छ । त्यस्तै बाँदरमुडे घटनाका सम्बन्धमा पनि मृतकलाई एक लाख रुपियाँ, धेरै घाइते भएका व्यक्तिलाई ६० हजार, कम घाइते भएकालाई १० हजार गरी विभिन्न श्रेणीमा वर्गीकरण गरेर राहत दिने गरिएको छ ।
अर्को कुरा प्रचण्डले राहत प्याकेजको रकम समितिमार्फत नै बाँडिने भनेका छन् । वर्षौपछि चुनावको हल्ला चलिरहेका बेला राहतको चारो फाल्नु भनेको संघर्ष समितिमा फाटो ल्याउने रणनीति मात्रै हो । यसअघि पनि चितवनको फूलबारी गाविसमा आएका बेला पीडितहरूसँगको भेटमा प्रचण्डले दोस्रोपटक माडी आउँदा उक्त घटनामा संलग्न दोषीलाई कारबाही र पीडितका लागि ठूलो राहत प्याकेज ल्याएर आउनेछु भनेका थिए । तर, उनको त्यो अभिव्यक्ति भाषणका रूपमा मात्रै सिमित रह्यो ।

प्रतिक्रिया