सबै स्टेसनमा चलचित्र लागेन

Mousamiकाठमाडौ : अभिनेत्री मौसमी मल्ल तनावमा रहेकी छन् । उनको तनावको कारण बनेको छ–आफैले निर्माण गरेको पछिल्लो चलचित्र ‘समय’ । पटकपटक रिलिजको मिति सरेको उनको चलचित्र समय बल्ल सार्वजनिक प्रदर्शनमा आएको छ । हरेक साता दुईदेखि तीन चलचित्र एक अर्कासँग जुद्दै प्रदर्शनमा आउने गरे तापनि उनको ‘समय’ले भने सोलो रिलिज पाएको छ । सोलो रिलजिमा चलचित्र आए पनि सबै चलचित्र भवनमा चलचित्र नलागेका कारण उनको तनाव बढेको हो ।
‘उपत्यकाबाहेक बाहिरका कतिपय स्टेसनमा मेरो चलचित्र लागेको छैन । बल्लबल्ल विभिन्न व्यवस्था मिलाएर चलचित्र रिलिजमा ल्यायाँ सबै स्टेसनमा एकैसाथ चलचित्र आएन । यसरी चलचित्र सबै स्टेसनमा प्रदर्शनमा नआउँदा तनाव त हुने नै भयो नि’ मौसमीले भनिन् । वितरकका कारण चलचित्र सबै स्टेसनमा लाग्न नसकेको उनले आरोप लगाइन् । उनले भनिन् ‘व्यवसाय नै नभए पनि वितरकले आफ्नो चलचित्र छड्के दोहोऱ्याए मेरो चलचित्रलाई पछि सारे ।’ यस विषयमा वितरक नरेन्द्र महर्जनसँग बुझ्न पटकपटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन ।
‘समय’ मौसमीले निर्माण गरेको दोस्रो चलचित्र हो । यसअगाडि उनले ‘गिरफ्तार’ निर्माण गरेकी थिइन् । पारिवारिक प्रेमकथाको विषयमा तयार भएको चलचित्र समयमा मौसमीकै छोरा विक्की हिरोका रूपमा छन् भने सुरभी बिष्ट जैन नवनायिकाको रूपमा देखिएकी छन् । यी दुबैको अलवा मौसमी मल्ल, राजेश हमाल र सुशील क्षत्रीको पनि चलचित्रमा अभिनय रहेको छ । दयाराम दाहालको निर्देशनमा तयार भएको चलचित्रलाई सन्देश श्रेष्ठले निर्माण गरेका हुन् । क्यु सिस्टमबाट प्रदर्शनमा आएको चलचित्र सबै ठाउँमा लाग्न नपाएपछि निर्माण पक्ष चिन्तित बनेको छ । चलचित्रमा लक्ष्मण शेषको संगीत, विष्ण्ुा कल्पितको छायांकन र गोविन्द राईको नृत्यनिर्देशन छ । चलचित्रलाई सेन्सर बोर्डले सबै वर्गका दर्शकका लागि भन्दै युनिभर्सल सटिफिकेट दिएको थियो । (सौस)

प्रतिक्रिया