झापामा एड्सबाट १९ को मृत्यु

भद्रपुर : झापामा पछिल्लो पाँच वर्षको अवधिमा एचआइभी/एड्सबाट १९ जनाको मृत्यु भएको पाइएको छ ।
नाइट चेस क्लब काँकडभिट्टाले तीन वर्षको अवधिमा गरेको रक्त परीक्षणको तथ्यांक सार्वजनिक गर्दै जिल्ला एड्स समन्वय समिति झापाले यस्तो जनाएको हो । समितिका झापा संयोजक लिबर्टि श्रेष्ठका अनुसार मृतकमध्ये १४ जना पुरुष र पाँच जना महिला तथा बालबालिका छन् ।
बृहत् एचआइभी/एड्स रोकथाम कार्यक्रमअन्तर्गत तीन वर्षको अवधिमा क्लबले एक सय ११ जनाको रगत परीक्षण गरेकोमा ९४ जनामा एचआइभी सक्रमण भेटाएको जनाइएको छ । उक्त अवधिमा एक हजार दुई सय ७४ जना यौनरोगीको नि:शुल्क उपचार, १३ हजार चार सय १४ वटा कन्डम वितरण, सुई सिरिन्जबाट लागुपदार्थ सेवन गर्ने ३४ जनालाई यौनरोगको उपचार गरिएको थियो ।
वैदेशिक रोजगारीका लागि बिदेसिने कामदारलाई लक्षित उक्त कार्यक्रमअन्तर्गत सन् २००९ देखि २०१३ सम्ममा पाँच हजार आठ सय ८९ जनाको रगत परीक्षण गरिसकिएको छ ।

प्रतिक्रिया