आधुनिक प्रेमको उत्खनन

Milan-Sangraulaपछिल्लोपटक प्रेमकथामाथि लेखिएको शक्तिशाली उपन्यास ‘समर लभ’ प्रकाशित भएको छ । प्रेममा आधारित गहन कृतिको अभाव नेपाली साहित्यले गरिरहेका बेला फाइनप्रिन्टले प्रकाशन गरेको सुविन भट्टराईको यस उपन्यासले त्यो स्तरको अभाव पूर्ति गर्ने देखिन्छ ।
प्रेमका आयाम र पछिल्लो नेपाली तन्नेरी पुस्ताको प्रेमको भाषालाई यस उपन्यासले आत्मसात् गरेको छ । कथा र भाषा प्रेमकै छ । आवरणमा मोडलको फोटो प्रयोग र रंगीचंगी बेलुनले उपन्यासको रोमाञ्चकारी मुख्य आसयलाई पनि बोकेको छ ।
प्रेम जति शक्तिशाली छ, त्यत्ति नै संवेदनशील पनि । प्रेमको सुरुआत त बेलुनमा हावा भरेजस्तै सजिलो छ तर यसलाई बचाइराख्न उति नै गाह्रो । प्रेम विश्वासको झिनो डोरीमा अडिएको हुन्छ जसरी बेलुन धागोमा । सानो लापरबाहीले पनि यो चुँडिन सक्छ र बेलुन हावामा हराएझैँ हराउन सक्छ । यस्तै बाहिरी तत्त्वहरूले पनि प्रेमलाई फुटाइदिन सक्छन् र बेलुन फुटेझैँ प्रेम फुट्न पनि सक्छ । तर, होसियारका साथ बेलुनलाई रंगीन संसारमा अवतरण गराएझैँ प्रेमलाई पनि अवतरण गराउन सके जिन्दगी पनि रंगीन बन्छ, आवरणले यसै भन्छ ।
उपन्यासका मुख्य पात्रहरू हुन्– साया शाक्य र अतीत शर्मा । मान्छे नदेखी केवल नाम सुनेरै प्रेम गर्न थाल्छ अतीतले सायालाई । पछि त्यो एकतर्फी प्रेम दुईतर्फी बन्छ र उनीहरूको रोचक प्रेमयात्रा सुरु हुन्छ । दुईवर्षे डिग्रीको अन्तरालमा उनीहरूको प्रेम रोमान्सको खुट्किलो पार गर्दै निकै गहिराइसम्म पुग्छ । तर, डिग्री हासिलपश्चात् उनीहरूको प्रेम जटिल मोडमा आएर उभिन्छ । दुवैले नर्वेका लागि आवेदन दिए पनि सायाले मात्र छात्रवृत्ति पाउँछे । उनीहरूको प्रेम बिछोडिन बाध्य हुन्छ । अतीत एनजिओको काम पाएर धनगढीतिर लाग्छ ।
टाढा भए पनि उनीहरू सूचना प्रविधिमार्फत प्रेम जीवन्त राख्न खोज्छन् । तर, के मिल्दैन मिल्दैन । त्यसैले होला साया सुटुक्क दिल्लीको बाटो नेपाल आउँछे । सायद सायाले सोचेकी थिई होली बिहे गरेपछि एक किसिमले ढुक्क भइन्छ । केही साथीहरूको रोहवरमा उनीहरूको बिहे सम्पन्न हुन्छ र उनीहरूले त्यसको दर्ता पनि गर्छन् । साया तुरुन्तै फर्किन्छे । उनीहरूको विवाह अन्तर्जातीय भएकाले परिवारले स्विकार्ने सम्भावना अति कम हुन्छ । अतीतले परिवारको स्वीकृति नपाए पनि विवाह गर्छ भने सायाले विवाहको सुइकोसम्म पनि दिन्न । उल्टै विवाहपछि हात माग्न पठाएझैँ अतीतलाई आफ्नो घर पठाउँछे । यहीबाट उनीहरूको प्रेममा गडबडी पैदा हुन्छ ।
अन्तरजातीय विवाहलाई सायाको परिवार स्वीकार गर्दैन तर सायालाई अति प्रेम गर्ने अतीतले सायाकै खातिर संयमित भएर त्यो कुरो त्यहाँ भन्दैन । तर, उता सायाको मन ? अतीतले सायाको मनलाई बुझ्न नसकेझैँ पाठक स्वयं पनि रनभुल्लमा पर्छ । आखिर के छ सायाको मनमा ? किन अतीतबाट टाढिन चाहन्छे ऊ त्यति गहिरो प्रेमसम्बन्ध त्यागेर ? यो रहस्यमय छ, यही रहस्यको खोजीमै उपन्यास सकिन्छ । उपन्यास पूर्णरूपमा अतीतको नजरबाट लेखिएको हो । त्यसैले सायाको भाव रहस्यमै रहनु स्वाभाविक हो ।
उपन्यास सरल किसिमले अघि बढेको छ र उपन्यासका पात्रहरूमा पाठकलाई चुर्लुम्म डुबाउन सक्नु उपन्यासकारको खुबी नै मान्नुपर्छ । लेखकले आफ्नो दर्शन जबरजस्ती घुसाएका छैनन् । भन्न खोजेका कुराहरू स्वत: पात्रको मनस्थिति र घटनाक्रममार्फत खुल्दै जान्छन् । उपन्यासको अर्को सबल पक्ष यसमा प्रयुक्त हास्यरस हो । यसले पाठकलाई झन्झट लाग्दैन र हाँस्दाहाँस्दै ठाउँठाउँमा भावुक बनाउँछ ।
अतीत र सायाबाहेक अन्य सहायक पात्रहरू पनि उत्तिकै महत्त्वका छन् उपन्यासमा । मुख्य पात्रको चरित्र उजागर गर्ने मात्र होइन, आफैँ पनि खुल्दै जान्छन् सबै पात्रहरू । प्रतीक्षा र किरणको सम्बन्धमार्फत एकखाले प्रेम उजागर भएको छ । त्यस्तै सुष्मिता र अतीतको सम्बन्धमार्फत यौन र प्रेमको भिन्नतालाई देखाएका छन् । समग्रमा उपन्यास लेख्न क्लिष्ट भाषा, दर्शन वा ठूलै विषय चाहिन्छ भन्ने पुरातनवादी उपन्यासकारलाई भट्टराई चुनौती बनेर लेखक पेस भएका छन् ।

प्रतिक्रिया