११ र १२ को परीक्षालाई नयाँ प्रविधि

काठमाडौ : उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को परीक्षाका लागि नयाँ प्रविधि प्रयोगमा ल्याउने भएको छ । नक्कली विद्यार्थीको प्रयोग बढेकाले त्यस्तालाई निरुत्साहित गर्न परिषद्ले आगामी वार्षिक परीक्षादेखि उत्तरपुस्तिकामा बारकोड र अप्टिकल मार्क रिडर (ओएमआर)को प्रयोग गर्न लागेको हो ।
परिषद्का उपाध्यक्ष हेमकुमार मिश्रले वार्षिक परीक्षामा एउटा परीक्षार्थीको नामबाट अर्काे व्यक्तिले परीक्षा दिन नसक्ने प्रविधिको थालनी गरिने जानकारी गराएका छन् । यस किसिमको प्रविधिले नक्कली विद्यार्थीको बदमासी अन्त्य हुनुका साथै उत्तरपुस्तिकाको गोपनीयतासमेत कायम रहने उपाध्यक्ष मिश्रको भनाइ छ ।
परीक्षार्थीको उत्तरपुस्तिका चिन्न नसक्ने प्रविधिको प्रयोगबाट परीक्षक वा परिषद्कै कर्मचारीले समेत कुनै परीक्षार्थीलाई बढी अंक दिन सक्ने सम्भावना नरहने भएको छ । विद्यार्थीले रजिस्ट्रेसन फारम भर्दा प्रयोग गरेको फोटो, विद्यार्थीको दस्तखतलगायतका कुरालाई ‘स्क्यान’ गरी रजिस्ट्रेसन प्रमाणपत्र उपलब्ध गराइनेछ । परिषद्का अनुसार सोही विवरणका आधारमा परीक्षा फारम स्वीकार गरिने र वार्षिक परीक्षामा विद्यार्थीलाई उपलब्ध गराइने प्रवेशपत्रमा स्क्यान गरिएकै फोटो, विद्यार्थीको दस्तखत, विद्यार्थीको सिम्बल नम्बर, रजिस्ट्रेसन नम्बर, विद्यालयको नाम र परीक्षा दिने विषय उल्लेख गरिनेछ ।
परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले प्रवेशपत्रमा उल्लिखित विवरणअनुसारका कुरा परीक्षा केन्द्रमा पठाइने विद्यार्थीको हाजिरी फारममा उल्लेख हुने बताए । ‘परीक्षाका बेला विद्यार्थीले हाजिर गर्दा प्रवेशपत्रमा भएकैअनुसार हस्ताक्षर गर्नुपर्ने हुन्छ,’ परीक्षा नियन्त्रक अर्यालले भने, ‘नक्कली विद्यार्थीले हस्ताक्षर मिलाउन नसक्ने हुँदा त्यस्ता विद्यार्थीले परीक्षा दिन लागेको भए सजिलै पत्ता लगाउन सकिन्छ ।” उनले विद्यार्थीलाई उपलब्ध गराउने शैक्षिक योग्यताका प्रमाणपत्रमा पनि विद्यार्थीको फोटो ‘स्क्यान’ गरी राखिने भएकाले प्रमाणपत्र हेर्दा नै वास्तविक विद्यार्थी चिन्न सकिने बताए । उत्तरपुस्तिकामा प्रयोग गरिने बारकोड प्रविधिबाट उत्तरपुस्तिका कुन विद्यार्थीको हो भन्ने थाहा पाउन सकिँदैन । उत्तरपुस्तिका परीक्षकले परीक्षणपछि अंक दिएको ‘मार्कस्लिप’लाई बारकोड मेसिनमा प्रवेश गराइन्छ । “मार्कस्लिपका आधारमा कुन विद्यार्थीले कति अंक पायो भन्ने कुरा परिषद्का कुनै कर्मचारीलाई थाहा हुन सक्दैन,” उनले भने, ‘ओएमआर मेसिनले दिएको अंकलाई ‘स्क्यान’ र ‘रिड’ गरेपछि त्यसलाई सच्याउन मिल्दैन । त्यसबाट परीक्षकले दिएको अंकलाई परिषद्का कर्मचारीले चाहेर पनि थपघट गर्न सक्दैनन् ।’
यस्तो प्रविधिको प्रयोग आगामी वर्ष काठमाडौं उपत्यकाभित्र गरिने र त्यसपछि अन्य जिल्लामा विस्तार गरिने परिषद्ले जनाएको छ । (सौस)

प्रतिक्रिया