प्रचण्डको पोट्रेट बनाउँदा डर लाग्यो

Vijaya-Thapaएमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको लगभग तीन महिनापछि उनका छोरा प्रकाश मकहाँ आए । प्रकाशको हातमा प्रचण्डको तस्बिर थियो । प्रस्ताव गरे, ‘बुबाको  पोट्रेट बनाउनुपर्‍यो ।’ अहिलेसम्मका प्राय: सबै नेपाली प्रधानमन्त्रीको पोट्ेरट मैले नै बनाएको छु । मन्त्रिपरिषद् कार्यालयमा हालसम्म झुन्ड्याइएका सबै पोट्ेरट मैले नै तयार गरेको हुँ । सरकार फेरिएसँगै आउने नयाँ प्रधानमन्त्रीको पोट्रेट बनाइदिनुपर्‍यो भन्दै मलाई अर्डर आउने गरेको थियो । तर, प्रचण्डको पोट्रेटको अर्डर पनि मैँलाई आउला भन्ने लागेकै थिएन । म पुरानो व्यवस्थादेखि काम गर्दै आएको मान्छे । माओवादी नयाँ व्यवस्था स्थापित गर्ने भन्दै सशस्त्र युद्ध गरेर आएको पार्टी । त्यही पार्टीबाट बनेका प्रधानमन्त्री । नयाँ व्यवस्थासँगै प्रधानमन्त्रीको पोट्रेट बनाउने मेरो सिलसिला पनि अब समाप्त भयो भन्ने सोचेको थिएँ । तर, होइन रहेछ ।

प्रचण्डको  पोट्रेट बनाउने प्रस्ताव आएपछि मैले तस्बिरमा उहाँको मुहार नियालेँ । मनमा अलिअलि डर पलायो । मैले प्रचण्डलाई प्रत्यक्ष भेटेको थिइनँ । व्यक्तिगत बानीबेहोरा र हाउभाउ पनि जान्दैनथेँ । व्यक्तिको अनुहार र भाव झल्काएर बनाउने चित्र हो  पोट्रेट ।
हरेक व्यक्तिको ‘फेस क्यारेक्टर’ झल्काउन सकिए मात्रै  पोट्रेट चित्रले सार्थकता पाउँछ । प्रचण्डको फोटो आएपछि फेस क्यारेक्टर कस्तो बनाउने भन्नेमा केही चिन्तित थिएँ । राणाशासनमा चित्रकला चित्त नबुझे राणाहरूले कलाकारको हातै काटिदिन्थे रे । माओवादीले पनि युद्धका बेला कति मान्छे मारेका, अपहरण गरेका, यातना दिएका खबर मैले पढिरहेकै थिएँ । त्यही प्रभावले होला, प्रचण्डको पोट्ेरट बनाउनुअघि मनमा त्रास जाग्यो– मैले बनाएको  पोट्रेट चित्त नबुझेर कतै मलाई पनि……†’ त्यसो भन्दैमा त्रासकै कारण एउटा चित्रकार आफ्नो जिम्मेवारीबाट पन्छिन पनि त सक्दैन † उसले चाहँदैन पनि । मलाई पनि कामै छोड्ने अनुमति थिएन । चुपचाप प्रचण्डको पोट्ेरट बनाउन सुरु गरेँ । तयार नहुँदासम्म प्रकाश तीन–चारपटक मेरो अफिसमा आएर हेरेर फर्कन्थे । प्रचण्डको फेस क्यारेक्टर बनाउँदा अलि कडा स्वभाव झल्किने ‘वेल कलर’ प्रयोग गरेँ । तयार भइसकेपछि प्रकाशले पोट्रेट र फोटो लिएर गए ।

त्यसपछि पनि मलाई डर भने लागिरहेकै थियो– पोट्रेट चित्त नबुझेर प्रचण्ड रिसाउनुहुने पो हो कि † तर, म आफैँ प्रचण्डको घर पुगेपछि भने मेरो डर हरायो । सुरुमा त उहाँ क्रूर अनि रिसाहा स्वभावका हुनुहोला भन्ने मैले ठानेको थिएँ । तर, होइन रहेछ । निकै सरल स्वभावका पो हुनुहुँदो रहेछ । प्रचण्डको नम्र र मिजासिलो शैली देखेपछि मेरो डर पनि हराएर गयो ।
प्रचण्डपत्नी सीताजीले मलाई चिया ल्याइदिनुभयो । प्रचण्डले पोट्ेरट हेरेर ‘ल ठीक छ, राम्रो बनाउनुभएछ’ भन्नुभयो । त्यतिबेला मलाई लाग्यो– पोट्ेरट बनाउनुअघि एकपटक उहाँलाई भेट्न पाएको भए हुनेरहेछ । फेस क्यारेक्टर अझ प्रस्टसँग झल्काउन सहयोग पुग्थ्यो ।

०३७ सालतिर हो, सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँलाई मन्त्रिपरिषद् कार्यालयमा नेपालका इतिहासदेखिकै प्रधानमन्त्रीको  पोट्रेट राख्न मन लागेछ । मलाई बोलाएर छलफल गर्नुभयो । मलाई पनि उहाँको विचार उत्तम लाग्यो । तर, उहाँलाई एउटा डर रहेछ– राणा प्रधानमन्त्रीको पोट्रेटचाहिँ बनाउने कि नबनाउने † निरंकुश राणाशासनका प्रतिनिधिको तस्बिर राख्दा विरोध उठ्ने सम्भावना थियो । राणाशासन फाल्न जनताले रगत बगाएका थिए, त्यो शासनव्यवस्था र तिनका मतियारलाई सम्झन पनि चाहँदैनथे । मलाई सोध्नुभयो– ‘के गर्ने, राणाहरूको पोट्रेटचाहिँ बनाउने कि नबनाउने ?’ मैले भनेँ– ‘राम्रो या नराम्रो जे भए पनि आखिर इतिहास मेटिँदैन । इतिहासले सदैव मुलुकको विगत पहिचान बोकिरहेको हुन्छ । मन्त्रिपरिषद् कार्यालयमा राणाहरूको तस्बिरमार्फत इतिहास झुन्डिने हो, त्यसैले कसले विरोध गर्ला र ?’ मेरो कुरामा उहाँले पनि सहमति जनाउनुभयो । अनि भन्नुभयो– ‘ल त त्यसो भए नेपालका अहिलेसम्मका सबै प्रधानमन्त्रीको पोट्रेट बनाउनुस् ।’ उहाँले मलाई चार महिनाको समय दिनुभएको थियो ।
त्यति बेलासम्म नेपालमा २५ जना प्रधानमन्त्री भइसकेका थिए । चार महिनामा ती सबैको पोट्रेट म एक्लैले बनाउन भ्याउने अवस्था थिएन । उता ४ महिनापछि विशेष समारोहमा ती तस्विर उद्घाटन गर्ने भनेर राजासँग समय मिलाइसकिएको रहेछ । मैले जसरी पनि भ्याउनै पर्ने बाध्यता आइपर्‍यो । अर्को अप्ठ्यारो के थियो भने मसँग सबै प्रधानमन्त्रीको तस्बिर थिएन । पुरानो समयका प्रधानमन्त्रीको त झन् तस्बिर पाइँदैनथ्यो । तस्बिर हुनेको पनि एउटा पोट्रेट तयार पार्न एक साताभन्दा बढी लाग्थ्यो । एक्लैले नभ्याउने भएपछि अमर चित्रकारलाई पनि साथी बोलाएँ । दुई जना मिलेर काम सुरु गर्‍यौँ । फोटो भएकाहरूको सहित गरेर १२ वटा अमर चित्रकारले बनाउनुभयो । बाँकी मैले ।
कालु पाँडे, रणजंग पाण्डे, फत्तेजंग शाहलगायत प्रधानमन्त्रीका फोटो पाइएनन् । उनीहरूको पोट्रेट बनाउन उनीहरूका वंशजको अध्ययन गरियो । सन्ततिहरूसँग भेटेर जानकारी लिएँ । इतिहास अध्ययन गरेर अन्तत: उनीहरूको पनि पोट्रेट बनाइछाड्यौँ । वीर पुरुषको मुहारभाव कस्तो देखाउने भन्नेबारे पनि इतिहास अध्ययनले नै बाटो खोलिदियो । उनीहरूको मुहारमा नरमभन्दा कडा स्वभाव झल्किने रंग प्रयोग गरेँ । अन्तत: ४ महिनामा ती सबै पोट्रेट तयार गरेरै छाडियो । मलाई ठूलै युद्ध जितेजस्तो अनुभव भइरहेको थियो । हालसम्म पनि यो सिलसिला कायमै छ ।

राजतन्त्र हुँदैका बखतदेखि मलाई दिइएको पोट्रेट बनाउने जिम्मा शाहवंश पतन भएर मुलुक गणतन्त्रमा प्रवेश गरिसकेपछिको अवस्थामा पनि कायमै छ । अनि कायमै छ, नेपालका विभिन्न शासनव्यवस्थाका इतिहासदेखिका प्रधानमन्त्रीको पोट्रेट मन्त्रिपरिषद्का भित्तामा सजाउने प्रचलन । वास्तवमै कला र इतिहासको आयतनलाई कुनै पनि वाद वा व्यवस्थाले सीमित पार्न सक्दैन र हुँदैन पनि ।
पछिल्लो पटक प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पोट्रेट तयार गरेँ । अरू प्रधानमन्त्रीको भन्दा डा. भट्टराईको पोट्रेट बनाउँदा फरक अनुभूति भयो । उहाँको पोट्रेट बनाइँदै गर्दा दुई–तीनपटक हिसिला यमी पनि आउनुभएको थियो । फाइनल हुनेहुने बेलामा पोट्रेट हेर्दै उहाँले भन्नुभयो– ‘डा. भट्टराईको अनुहारमा अलि पाकोपन छ । यसमा अलि युवाजस्तो देखियो । आँखाको साइडमा रिंकल पर्छ, त्यो पनि थपिदिनुस् न ।’ मैले हालसम्म सैयौं पोट्रेट बनाइसकेँ, कसैले पनि बूढो देखाइदिनुस् भनेका थिएनन् । बरु, अलि तरुण देखाइदिनुस् भन्थे । डा. भट्टराईको पोट्रेट बनाउँदा भने ठीक उल्टो भयो ।
झलनाथ खनालले कलाकारलाई विशेष महत्त्व दिनुहुने रहेछ । उहाँको पोट्रेट तयार भएपछि आफैँ पुर्‍याउन गएको थिएँ । साँझ साढे ७ बजे प्रधानमन्त्री कार्यालयमा भेट्ने समय मिलाइएको थियो । म पोट्रेट लिएर पर्खिरहेँ । भनेको समयमा भेट दिइएन । उहाँलाई भेट्ने लाइनका लाइन मान्छे बाहिर थिए । एक हुल निस्कनासाथ अर्को हुल पसिहाल्ने क्रम निरन्तर चलिरह्यो । ११ बज्यो, तैपनि मेरो पालो आएन । अलिअलि रिस पनि उठेको थियो । आफैँसँग मुर्मुरिएँ– दुई मिनेट भेटे पुग्ने मान्छेलाई कति धेरै कुराएका होलान् †
साढे ११ बजे बल्ल मेरो पालो आएछ । जब खनालले मलाई कार्यकक्षको भित्री कोठामा पुर्‍याउनुभयो तब पो मलाई दिइएको सम्मानको महसुस भयो । पोट्रेट हेरेर खुसी हुनुभयो अनि कोटको साइडमा एउटा झन्डा थप्न आग्रह पनि गर्नुभयो । चियाबिस्कुट खुवाउँदै आफ्नो चित्रकलामोहबारे सुनाउनुभयो । त्यतिबेला मलाई छुट्टै उत्साह पलाएको थियो । त्यति बेलै थाहा पाएँ, उहाँ आफँ पनि कवि अनि साहित्यकार हुनुहँदो रहेछ । कलाकारिता पनि जीवन बुझ्ने एउटा साहित्य नै हो । उहाँलाई भेट्दा एउटा कलाकारलाई भेटेजस्तै न्यानो अनुभूति भयो । अघि बाहिर ४ घन्टा कुर्नुपर्दाको तनाब पूरै बिर्सिसकेको थिएँ ।

मैले तीन महिना राजा वीरेन्द्रलाई वास पेन्टिङ सिकाएँ । राजा त्रिभुवनका कविताका भावको चित्र पनि बनाएँ । राजारानीको तस्बिर बनाएको छु । राष्ट्रपति डा. रामवरण यादवको पोट्रेट पनि बनाइसकेँ । प्रचण्डको पोट्रेट बनाउँदा निमेषभरका लागि मनमा त्रास आयो । त्यसअघि र पछि पियन होस् वा कुनै भिआइपीको पोट्रेट बनाउने काम, गमलाको फूलभन्दा ठूलो सोचिनँ । यदि मैले पोट्रेट बनाउने व्यक्तिको भिआइपीपनामाथि बढी ध्यान दिन थालेँ भने म उनको वैयक्तिक कुराबाट प्रभावित हुन सक्छु । अँध्यारो, उज्यालो र रंगहरूको सम्मिश्रण मात्रै पोट्रेटका लागि आवश्यक पक्ष हो । मैले तीभन्दा बढी कुरामा ध्यान दिन थालेँ भने पोट्रेटमाथि अन्याय हुन्छ ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया