युवा मृत्युको डरलाग्दो आँकडा

रोजगारी प्राप्तिका लागि विदेशीने नेपाली युवाको संख्या प्रतिदिन बढ्दै गएको छ । मलेसिया र खाडी मुलुकमा कठोर श्रम गर्न पुगेका युवाहरूको अवस्था निकै दयनीय र असुरक्षित बन्दै गएको छ । काममा दक्षताको अभाव, भाषाको समस्या र वैदेशिक व्यवसायीको ठगीका कारण युवाहरूले बढी दु:ख भोग्नुपरेको अवस्था निकै कहालीलाग्दो छ । नेपालका ग्रामीण क्षेत्रबाट विदेशका अत्याधुनिक सहरमा काम गर्न पुगेका युवाले हिँड्डुल गर्न, बोल्न र खान नजान्दासमेत ज्यान गुमाउनुपरेको छ । अहिले जुन अनुपातमा युवाहरू रोजगारीको खोजीमा जाने क्रम बढेको छ त्यही अनुपातमा युवाको लास नेपाल भित्रिने क्रम बढेको छ । यो सारै दु:खद र पीडादायी घटना वैदेशिक रोजगारमा जानेका आफन्तहरूले भोगिरहेका छन् । आफ्नो घर खेत साहुलाई जिम्मा लगाएर भविष्यमा परिवारलाई सुख दिने, छोराछोरीलाई राम्रो शिक्षा दिने र सुखसँग जीवनयापन गर्ने कल्पना बोकेर रोजगारीका लागि विदेशियका युवाको असामयिक र अस्वाभाविक मृत्यु हुने क्रम बढ्दै जानु राष्ट्रलाई नै क्षति पुग्नु हो । निकै अग्ला भवन निर्माणको कार्यमा अति उच्चाइमा काम गर्नुपर्ने बाध्यता, ठूला र अत्याधुनिक मेसिनसँगको अनविज्ञता, ट्राफिक नियम नबुझ्दाको समस्या र प्रतिकूल हावापानीको कारणले वैदेशिक रोजगारीमा जाने युवाको मृत्यु संख्या बढेको पाइन्छ । स्वदेशमै सम्बन्धित कामको तालिम लिनुपर्ने व्यवस्था र ट्रफिक नियम पालना गर्नुपर्ने विधिको समेत जानकारी नभएकाले विदेशिने युवाको मृत्युदर बढेको हो । अब राज्यले यो मृत्यदर रोक्ने उपाय खोज्न ढिला गर्नु हँुदैन ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार चालु आर्थिक वर्षको फागुन १४ सम्ममा ९० जना मृतक कामदारको शव नेपाल आएको छ । रोजगारीको खोजीमा बर्सेनि विदेशीने युवाको संख्या बढेसँगै विभिन्न कारणले मृत्यु हुनेको संख्या बढेको बोर्डले जनाएको छ । कामको सिलसिलामा बिदेसिएका युवाको लास झिकाइदिन अहिले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा दैनिक पाँचदेखि सात जना आफन्तले निवेदन दिने गरेका छन् । यो निवेदनको आधारमा भन्ने हो भने विदेशमा काम गर्न गएका युवा दिनको पाँचदेखि सात जनाले ज्यान गुमाउँदै छन् । यो डरलाग्दो आँकडा बोर्डको जानकारीमा छ । तर, क्रमश: बढ्दै गएको मृत्युदरको रोकथामको उपायतर्फ भने कुनै निकायले सोचेको पाइँदैन । प्रवद्र्धन बोर्डले आफन्तका निवेदनको आधारमा लास झिकाइदिने पहल गरेको पाइन्छ । आफन्तको मृत्युको खबर सुनेका आफन्त काठमाडौं आएर सम्बन्धित निकायसम्म पुग्न निकै लामो समय लाग्छ । त्यसपछि बोर्डमा निवेदनलगायतका काम सकेपछि शव झिकाउने प्रक्रिया सुरु हुन्छ । आफन्तले शव प्राप्त गर्न तीन महिनासम्म कुर्नुपर्ने बाध्यता छ । नेपाल सरकारले विदेशमा मृत्यु भएका आफन्तको शव झिकाउनसमेत ढिला गरिदिने भएकाले स्वदेशमा रहेका आफन्तलाई झन् बढी पीडा थपिने गरेको छ ।
रोजगारीका लागि बिदेसिएका युवाको दु:खद मृत्युको बढ््दो संख्या
न्यूनीकरण गर्न सरकारले थुप्रै काम गर्न सक्छ । रेमिट्यान्सको भरमा अर्थतन्त्र धान्ने हाम्रो जस्तो मुलुकले विदेशमा नेपाली युवाले के–कस्ता काम गर्नुपर्छ र ती काम गर्न कुन खालको दक्षता चाहिन्छ सोहीअनुसारको तालिमको व्यवस्था गर्नुपर्छ । विदेशमा गएर युवाहरूले नै कमाएको रकमबाट तालिम केन्द्र खोलेर तालिम दिने व्यवस्था नगर्ने हो भने नेपाली युवाको मृत्यु अझ बढ्नेछ । बाटो काट्न नजान्दा भएको दुर्घटनामा बढी युवाले ज्यान गुमाएको समाचारले धेरैको मन खिन्न बनाएको छ । बाटो काट्दा अपनाउनुपर्ने साधारण ज्ञानसम्म दिन नसक्नु सरकारको कमजोरी हो । सबै प्रकारका तालिम दिएर दक्ष कामदार मात्र विदेश पठाउने उद्देश्य सरकारले राख्नुपर्छ । आफ्नो देशमा रोजगारीको व्यवस्था पनि गर्न नसक्ने र तालिमको व्यवस्था पनि गर्न नसक्ने स्थिति कायम राख्नु हुँदैन । के गर्दा र कुन तरिकाले विदेशमा युवाको मृत्यु हुने क्रम रोकिन्छ त्यो गर्नु सरकारको दायित्व र कर्तव्य हो । यसतर्फ बेलैमा सोच्न जरुरी छ ।

प्रतिक्रिया