शीर्ष बैठकमा कुरा मिलेन

काठमाडौं, १८ फागुन । चुनावी प्रक्रिया र संवैधानिक गाँठो फुकाउन बिहीबार बसेको शीर्ष नेताको बैठकले पनि कुनै सहमति जुटाउन सकेन । चुनावी प्रक्रिया, संविधानमा बाधा–अड्काउ फुकाउको गृहकार्य गर्ने जिम्मा चार शक्तिको आठ सदस्यीय कार्यदललाई दिइएको थियो । तर, शीर्ष तहमै छलफल गर्नुपर्ने भन्दै बिहीबार बसेको एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाबीचको छलफल कुनै टुंगोमा पुगेन ।

बानेश्वरस्थित सेना समायोजन विशेष समितिको कार्यालयमा बसेको बैठकमा पनि दलीय एजेन्डा कायम हुँदा कुनै सहमति नबनेको हो । एमाओवादी लडाकुको दर्जा मिलान, पद, नागरिकता, मतदाताका विषयमा छलफल भए पनि कुनै सहमति नगरी नेताहरू बाहिरिएका थिए । एमाओवादी र कांग्रेसले छुट्टाछुट्टै अनौपचारिक छलफल गरे पनि अन्य विषयमा औपचारिक छलफल हुन नसकेको एमाले नेता भीम रावलले बताए ।
‘कार्यदलले बुँदागत रूपमा पेस गरेको प्रस्तावमा छलफलसमेत भएन,’ कार्यदलका सदस्य एमाले नेता भीम रावलले भने ।
एमाओवादी लडाकुको दर्जा मिलान र पद, सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन तत्काल मिलाउनुपर्ने अडानमा छ । मधेसी मोर्चाले पनि नागरिकता र निर्वाचन क्षेत्रको विषय उठाउँदै पछिल्लो जनगणनाअनुसार तराईका जिल्लामा निर्वाचन क्षेत्र पुन: निर्धारण गर्नुपर्ने माग गरेको छ ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले छलफल सकारात्मक रहेको भन्दै केही दिनमा दलहरू सहमतिमा पुग्ने बताए । संवैधानिक अड्चन फुकाउने विषयमा कुनै सहमति गर्न नसकेपछि शीर्ष नेताहरू शुक्रबार बिहान पनि बस्नेछन् । साथै, शीर्ष तहको छलफलपछि शुक्रबार नै कार्यदल सदस्यसहितको बैठक बस्ने नेताहरूले जानकारी दिए ।
विषयमा सहमति गर्न कार्यदललाई जिम्मा दिइए पनि सहमति नबन्दा पुन: शीर्ष तहमा छलफल गर्नुपर्ने भन्दै कार्यदल पन्छिएको थियो । बैठकमा चारवटै शक्तिका प्रमुख नेताहरूका साथै कार्यदलका सदस्यसमेत सहभागी थिए ।

प्रतिक्रिया