रेग्मीविरुद्धको रिट अस्वीकार

काठमाडौ, १८ फागुन । प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी सरकारको नेतृत्व लिन तयार भएको भन्दै परेको रिटलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रधानन्यायाधीशले कार्यपालिकाको पद स्वीकार गरी अदालतको अवहेलना गरेको दाबी गर्दै सर्वाेच्च अदालत पुगेको रिटलाई सर्वोच्चले दरपिठ गरेको हो ।

प्रधानन्यायाधीश कार्यपालिकाको प्रमुख पद लिन तयार भएको भन्ने कुरा मनोगत भएको उल्लेख गर्दै सर्वोच्चले ‘निवेदन प्रथमदृष्टिमै दर्ता गर्न लायक नदेखिएको’ जनाएको छ । अधिवक्ता सुनील रञ्जन सिंहले प्रधानन्यायाधीश कार्यपालिकाको प्रमुख बन्न पाउने या नपाउने विषयको रिट सर्वाेच्च अदालतमा विचाराधीन भएका बेला यसप्रति सार्वजनिक अभिव्यक्ति दिएर विचाराधीन मुद्दामा प्रभाव पारेको उल्लेख गर्दैे रिट हालेका थिए ।
उक्त रिटलाई अस्वीकार गर्दै सर्वाेच्चले ‘अदालतको विज्ञप्तिमा न्यायपालिका र न्यायिक निर्णयको उच्च सम्मान गर्ने’ बताइएको स्मरण गराएको छ । ‘विज्ञप्तिमा न्यायपालिका र न्यायिक निर्णयको उच्च सम्मान गर्ने व्यहोरा स्पष्ट उल्लेख हुँदाहँुदै विज्ञप्तिमा उल्लेख नै नभएको कार्यपालिकाको प्रमुख पद लिन तयार भएको भन्ने मनोगत अर्थ गरी प्रधानन्यायाधीशको पद र अदालतको गरिमामा आँच पुगेको’ उल्लेख गरेको छ ।
मुख्य चार राजनीतिक दलले १४ फागुन बिहान औपचारिक आग्रह गरेपछि प्रधानन्यायाधीश रेग्मीले सर्वोच्चमार्फत विज्ञप्ति निकाली आफू बृहत्तर राष्ट्रिय हितका लागि सकारात्मक भएको जनाएका थिए । प्रधानन्यायाधीश रेग्मीको निर्देशनमा सर्वाेच्च अदालतले निकालेको विज्ञप्तिमा ‘बृहत्तर राष्ट्रिय हित एवं सरोकारको विषयमा राष्ट्रिय हितअनुकूल देशमा उत्पन्न राजनीतिक एवं संवैधानिक जटिलताको निकासका लागि सम्माननीय प्रधानन्यायाधीशज्यूको सकारात्मक दृष्टिकोण रहिआएको’ उल्लेख गरिएको थियो ।
सर्वाेच्च अदालतले प्रधानन्यायाधीशविरुद्ध दायर गर्न लागेको अवहेलनाको रिट अस्वीकार गरेपछि अधिवक्ता सिंह पुन: दरपिठविरुद्ध सर्वाेच्च जाने भएका छन् । उनले दरपिठविरुद्ध पुन: सर्वाेच्च अदालत जाने तयारी गरेको बताए ।

प्रतिक्रिया